Logo

भारतसँगको सहकार्य कार्यान्वयनका लागि द्विपक्षीय संयन्त्र सक्रिय



काठमाडौँ, १५ साउन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतबीचको सहकार्यनिम्ति गरिएको प्रतिबद्धताको कार्यान्वयनका लागि द्विपक्षीय संयन्त्र सक्रिय हुन थालेको बताएका छन ।

एशियन इन्स्टिच्यूट एण्ड डिप्लोमेसी एण्ड इण्टरनेशनल एफेयर्स तथा नेहरु मेमोरियल म्युजियम एण्ड लाइब्रेरीले आयोजना गरेको ‘नेपाल–भारत सम्बन्धको प्रवद्र्धनका लागि प्रबुद्ध वर्गको भूमिका’ विषयको सम्मेलनको आज उद्घाटनका अवसरमा अध्यक्ष दाहालले आपसी सम्बन्ध खुला र प्रगतिशील मानसिकताका साथ साझा स्वार्थका लागि अघि बढाउन आफूहरुले प्रयत्न गरिरहेको जानकारी गराएका हुन।

उनले नेपालको स्थिरता, शान्ति र समृिद्ध भारतको पनि स्वार्थको विषय भएको तथा छिमेकीको सहयोगविना नेपालको समृद्धि हासिल गर्न नसक्ने भएकाले दिगो विकास लक्ष्यको परिधिमा रहेर साझा गन्तव्य पहिल्याउन आवश्यक भएकामा जोड दिएका छन । उनका अनुसार “नेपालको गरिबीको अवस्था लामो समयसम्म रहिरहन सक्दैन । छिमेकीले विकास गरिरहँदा हामी पछि पर्न सक्दैनौँ । भारतसँगको समझदारीअनुसार रेल र जलमार्ग हुँदै आर्थिक समृद्धिको यात्रामा अगाडि बढ्न आवश्यक छ ।”

समान सार्वभौमसत्ता र साझा स्वार्थका आधारमा आपसी सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गर्दै अध्यक्ष दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो नेपाल भ्रमणले सिर्जना गरेको ताजा विश्वासलाई समेत आधार मानेर सहकार्य र सम्बन्धलाई गाढा बनाउन जोड दिएका थिए।

सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले दुई देशका प्रधानमन्त्री तहमा पछिल्लो समयमा भएको भ्रमण आदानप्रदानले सम्बन्ध सुध्रिएको बताउँदै दुई देशले गठन गरेको प्रबुद्ध वर्ग समूहले आपसी सम्बन्धलाई नयाँ इतिहासमा लाने गरी प्रतिवेदन दिने विश्वास व्यक्त गरे ।

बुद्धिजीवीले नकारात्मक वा सकारात्मक पक्षको मात्रै प्रकाश पार्ने प्रवृत्ति अन्त्य गर्न यस्ता सम्मेलनले भूमिका निर्वाह गर्ने बताउँदै, नेपाल र भारतबीच जनता र सरकारका बीचमा नजीकको सम्बन्ध भएकाले कहिलेकाहीँ खटपट देखा परे पनि पुनः मिलेर रहने गरेको अवस्थालाई सबैले आत्मसात् गर्नुपर्नेमा जोड गरेका छन।

भारतीय जनता पार्टीका महासचिव श्रीराम माधवले दुई देशबीच संस्कृति, सम्पर्क सञ्जाल र वाणिज्यलगायत क्षेत्रमा नजीकको सम्बन्ध रहेको जनाउँदै नेपालको बहुमतको स्थिर सरकारले लोकतन्त्रलाई सफल बनाउने अपेक्षा व्यक्त गरेका छन । भारतीय प्रधानमन्त्री मोदीको छिमेकी नीतिले निरन्तरता पाउने बताउँदै उनले आपसी सम्बन्धलाई ज्ञानमा आधारित सम्बन्धका रुपमा पनि विकास गर्न सम्मेलनले योगदान दिने उल्लेख गरेका छन।

नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले पछिल्लो समयमा नेपाली र भारतबीच अरुण ३ परियोजना र वीरगञ्जको संयुक्त जाँचका सम्बन्धमा भएको सम्झौताले आपसी आर्थिक सहकार्य अभिवृद्धि हुने जनाए । दुवै देशका बुद्धिजीवी सहभागी सम्मेलनमा विभिन्न सत्रमा राजनीतिक र बुद्धिजीवी क्षेत्रका प्रतिनिधिबीच अन्तक्र्रिया हुनेछ ।रासस



प्रतिक्रिया दिनुहोस्