Logo

दिल्लीको होटेलबाट ३९ नेपाली महिलाको उद्धार



काठमाडौँ,१६ साउन । दिल्ली महिला आयोग डिसीडब्लु ले ३९ जना नेपाली महिलालाई एक होटलबाट उद्धार गरेको छ । नेपालबाट त्यहाँ पु¥याइएका ती महिलालाई दिल्लीको पहाडगञ्ज क्षेत्रमा रहेको एक होटेलमा राखिएको थियो ।

डिसीडब्लूका प्रमुख स्वाती मालीवालका अनुसार ती महिलालाई पहिले दिल्ली ल्याइएको र त्यहाँबाट उनीहरुलाई जागीर दिलाउने वाचा गर्दै अवैध व्यापारको लागि खाडी राष्ट्रमा पठाउने तयारी थियो ।

केही महिलालाई यसअघि नै श्रीलङ्का पठाइएको र उनीहरु सम्पर्कविहीन रहेको पनि मालीवालले एएनआईलाई बताए । दिल्लीका विभिन्न स्थानबाट एक हप्ताभित्र नै ७३ जना महिलालाई उद्धार गरिसकिएको पनि मालीवालले जनाईन।

मालीवालले गृहमन्त्री राजनाथ सिंहलाई दिल्लीका प्रहरी उच्च अधिकारीहरुसँग यस विषयमा छलफल गर्नको लागि समेत आग्रह गरिन । साथै दिल्ली प्रहरीलाई मानव ओसारपसारको यो कार्य रोक्नको लागि निर्देशन दिन पनि मन्त्री सिंहलाई आग्रह गरिएको छ।

गत जुलाई १६ मा पनि मुनीरका क्षेत्रबाट १६ नेपाली महिलालाई उद्धार गरिएको डिसीडब्लुले जानकारी दिएको छ । ती नेपाली महिलालाई भारत ल्याइएको र त्यसपछि राम्रो जागीर दिलाउने लोभ देखाएर कुवेत र इराकमा लैजाने तयारी रहेको जानकारी दिइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्