Logo

समयमै पुल नबन्दा सास्ती



जाजरकोट , १६ । छिञ्चु–जाजरकोट सडकखण्डका दर्जन पुल सडक विभागको लापर्वाहीका कारण अलपत्र परेका छन् ।
यातायात सञ्चालन भएको १० वर्ष र कालोपत्रे भएको पनि पाँच वर्ष बितिसकेको छ  । सडक विभागको लापर्वाहीका कारण उक्त सडकखण्डअन्तर्गत पासागाड खोलामा पुल निर्माण पाँच वर्षदेखि अलपत्र छ । छिञ्चु–जाजरकोट सडकखण्डअन्तर्गत पासागाड खोलामा पुल नबन्दा बर्खा र बाढीमा यातायात अवरुद्ध हुँदा जाजरकोट, डोल्पा र जुम्लाका यात्रुलाई सास्ती हुने गरेको छ ।
सडक विभागको चरम लापर्वाहीले खलंगादेखि ६ किमीको दूरीमा रहेको भेरी नगरपालिका–४ स्थित पासागाड खोलामा पुलःनिर्माण हुन नसकेको हो । उक्त खोलामा पुलःनिर्माणको सुरसारसमेत भएको छैन । विभागको गलत डिजाइनका कारण पुल निर्माण अलपत्र परेको बताइएको छ ।

सडक विभाग र आइएमई आरसी कन्सल्टेन्सी ललितपुरको चरम लापर्वाहीका कारण पुल निर्माण अलपत्र परेको हो  । पुल निर्माणमा ढिलाइ हुँदा वर्षायाममा खोलाका कारण सवारी साधनलाई आवतजावतमा कठिनाइ हुनाका साथै दैनिक उपभोग्य वस्तु आपूर्तिमा पटक पटक अवरोध आएको नागरिक समाजका अगुवा राजेन्द्रविक्रम शाहले बताए । “सडक कालोपत्रे भएकै पाँच वर्ष बित्यो तर पुल निर्माण शुरु भएन”, उनले भने । पुल नबन्दा बाढी आएका बेला रातभर सवारीसाधन खोला किनारमा राखेर बस्नुपर्ने बाध्यता भएको चालक भीम बुढाले जनाए। जबर्जस्ती खोलामा हाल्दा पटक पटक गाडी फस्ने र बिग्रने गरेको छ ।

परामर्शदाताले हचुवामा गरेको डिजाइनका कारण पुल निर्माण हुन नसकेको सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख आशिष थापा मगरले बताएका छन । पुनः डिजाइन गरेर आवश्यक प्रक्रिया अघि बढाइएको बताइएको छ ।

पुलःनिर्माणका लागि पाँच वर्षअघि विभागको सूचनाबमोजिम रु तीन करोड लागतमा लुम्बिनी–आशिष जेभी निर्माण सेवा काठमाडौँको बोलपत्र स्वीकृत भएको तर निर्माणस्थल र डिजाइनको तालमेल नमिल्दा पुल निर्माण अवरुद्ध भएको मगरले जनाए ।

परामर्श कम्पनीले रु सात लाखको लागतमा पुलको डिजाइन गरेको थियो  । “पुलको डिजाइन एक छ, निर्माणस्थलको लोकेशन अर्कै छ । कसरी निर्माण शुरु गर्ने ?”,  उनले थपे , “परामर्शदाताले ४६ मिटर लम्बाइको पुल डिजाइन गरेको छ तर पासागाड खोलामा सर्भे गर्दा निर्माणस्थलको २५ मिटरभन्दा लम्बाइ बढ्दैन ।”

कम लागतमा निर्माण हुने पुलका लागि पनि किन थप बजेट खेर फाल्ने’, थापाको भनाइ छ । तीन वर्षअघि निर्माण कम्पनीलाई स्थान देखाउने क्रममा गलत डिजाइनको खुलासा भएको उनि बताउन्छन । सडक डिभिजनले पुल निर्माणका लागि रु तीन करोड भुक्तानी नगर्ने भएपछि निर्माण कम्पनीले काम शुरु नगरेको उनको भनाई रहेको छ ।

सडक विभागले ठेक्का सम्झौतानुरूप भुक्तानी दिने भए तत्काल कार्य शुरु गर्ने निर्माण कम्पनीले जनाएको छ । परामर्शदाताले पुलको सर्भे स्थलगत नगरेरै काल्पनिक डिजाइन बनाएको देखिन्छ । सडक विभागले पुलको हचुवा डिजाइन गर्ने परामर्श कम्पनीलाई कारवाही प्रक्रिया अघि बढाएको प्रमुख मगरले बताए ।
रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot