Logo

पुस्तक पठन मेलामा सयौं विद्यार्थीले सहभागिता



नुवाकोट, १७ साउन । वर्षे बिदामा रहेका विद्यार्थीलाई अध्ययनमा संलग्न गराउन विदुर नगरपालिका–६ मान्द्रेढुंगास्थित मान्द्रेढुंगा आधारभूत विद्यालयमा सञ्चालन भएको पुस्तक पठन मेलामा सयौं विद्यार्थीले सहभागिता जनाएका छन् ।

विद्याथीहरूबीच पठन संस्कारको विकास र विदाका समयमा बराल्लिएका विद्यार्थीलाई पठनकार्यमा सहभागी गराउने उद्देश्यले पुस्तक पठन मेला आयोजना गरिएको आयोजक मान्द्रेढुंगा आधारभूत विद्यालयका प्रधानाध्यापक सान्नानी सापकोटाले बताएका छन।
रुम टु रिडको सहयोगमा आयोजना भएको एक दिने पठन मेलामा विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावकसमेत गरी ३००जनाको सहभागिता थियो ।

पठन मेलामा स्वतन्त्र पढाइ, सस्वर पढाइ, अक्षर अनुच्छेद लेखन र पढाइ दौड प्रतियोगिता पनि सञ्चालन गरिएको थियो । स्वतन्त्र पठन प्रतियोगितामा जल्पादेवी माविका कक्षा चारका छात्रा भूमिका चालिसेले ४३ सेकेन्डमा १०४ शब्द पढेर प्रथम भए भने सोही समयमा ९४ शब्द भएको पुस्तक पढेर आयूष प्याकुरेल द्वितीय भएका छन । अनुच्छेद लेखन प्रतियोगितामा चार मिनेट समयमा सबैभन्दा शुद्ध र राम्रा अक्षर लेखेर मान्द्रेढुंगा आधारभूत विद्यालयकी कमला राई प्रथम भईन ।

पढाइ दौड प्रतियोगितामा मान्द्रेढुंगाकै कक्षा ४ का छात्रा सन्जिता राई पहिलो भएका थिए । विजयी विद्यार्थीलाई रुडेक नेपालका अध्यक्ष मीनकुमार केसी र रुम टु रिडका वरिष्ट कार्यक्रमसहायक वटुराम भण्डारीले पुरस्कार वितरण गरेका छन ।
रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot