Logo

गुर्जा–ढोरपाटन पदमार्ग निर्माण



म्याग्दी १७ साउन । जिल्लाको धवलागिरि गाउँपालिका–१ गुर्जाबाट ढोरपाटन शिकार आरक्ष जोड्ने पर्यटकीय पदमार्ग निर्माण गरिएको छ । गाउँपालिकाको सहयोगमा गुर्जाका बासिन्दाले श्रमदान गरेर दोप्ताखोलादेखि रुघाचौरको उकालो खण्डमा पदमार्ग निर्माण गरेका हुन् ।

गाउँपालिकाले गत आर्थिक वर्षमा विनियोजन गरेको रु १५ लाख बजेटबाट तीन किलोमिटर ६०० मिटर पदमार्ग निर्माण गरिएको वडाअध्यक्ष झकबहादुर छन्त्यालले बताएका छन ।भीर र जंगलमा नयाँ बाटो निर्माणका साथै पुरानो पदमार्गको मर्मत गरिएको हो । गुर्जाका ५० मजदुरले दुई महिनासम्म जंगलमै बास बसेर पदमार्ग निर्माण गरेका थिए भने स्थानीय उपभोक्ताले रु। एक लाख ६० हजार बराबरको श्रमदान गरेका थिए ।

थप दुई किलोमिटर पदमार्ग निर्माण तथा सुधार गरेमा गुर्जादेखि रुघाचौर तथा गुर्जाघाट हुँदै ढोरपाटन घोडा खच्चरसमेत आवतजावत गर्न सकिने वडाअध्यक्ष छन्त्यालले जानकारी गराएका छन ।

गुर्जा र ढोरपाटन आवतजावतका लागि गोठालाले प्रयोग गर्दै आएको बाटोलाई पदमार्गमा रुपान्तरण गरिएको हो । पदमार्ग निर्माण पछि ढोरपाटन हुँदै गुर्जामा पर्यटक भित्र्याउन सकिने र स्थानीयवासीलाई आवतजावतमा सहज हुने बताइएको छ । गुर्जादेखि एक दिनमा ढोरपाटन पुग्न सकिन्छ ।

यो क्षेत्र हिमाल अवलोकन, झरना, तालतलैया, लालीगुराँसको जंगल, वनपैदावार र बन्यजन्तु यो पदमार्गको आकर्षण हो । यो पदमार्ग भएर अल्पसंख्यक छन्त्याल समुदायको बाहुल्य बसोबास रहेको गुर्जा गाउँमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने वडाअध्यक्ष छन्त्याको भनाइ थियो ।

यसैबीच गाउँपालिकाको रु ११ लाख अनुदान सहयोगमा लुलाङदेखि गुर्जा जाने बाटोमा पर्ने देउरालीको धुरीदेखि गुर्जातर्फ दुई किलोमिटर पदमार्ग निर्माण भएको छ । दुई किलोमिटर उकालो बाटोमा ढुंगाको सिंढी बनाएर पदमार्ग निर्माण गरिएको हो । रासस



प्रतिक्रिया दिनुहोस्