Logo

डा. केसीलाई अझै बिसञ्चो



काठमाडौं १८ साउन । ‘आगन्तुकलाई अनुमति छैन’ सेतो पानामा सूचना टाँसिएको छ, डा.गोविन्द केसीको उपचार कक्ष बाहिर। सूचनालाई अटेर गर्दै उनको कोठा भित्र छिर्नेहरूको कमी छैन। त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको सर्जिकल ग्यास्ट्रोइन्टेरोलोजीको कोठा नं. ५०२ मा बिहीबार कांग्रेसका नेता अर्जुननरसिंह केसी लुसुक्क छिरे।

सत्ताइस दिन लामो अनशनले कमजोर बनेका डा.केसी अझैं तङग्रिन सकेका छैनन्। रक्तचाप न्यून छ। अनशन बस्दा घटेको पोटासियम, म्याग्नेसियम, क्याल्सियमलगायतका विभिन्न रसायनको न्यूनतालाई सन्तुलनमा ल्याउन औषधि सेवन गरिरहेको डा.केसीको आफन्त अनिल कार्कीले जानकारी दिए।

उनलाई नेता, शुभचिन्तक, विद्यार्थी र सञ्चारर्मी भेट्न गइरहन्छन्। बिहीबार पत्रकार सम्मेलन गर्ने उनको योजना शरीरले साथ नदिँदा सफल हुन सकेन्। ‘बुधबार राति अचानक उहाँलाई गाह्रो भयो। ग्यासट्राइटीसको समस्या छ। विशेष गरी राति निद्रामा समस्या देखिएको छ’, डा.केसीलाई रातभरि कुरेका आफन्त कार्कीले भने।

६ दिनसम्म आइसीयुमा राखेर उपचार गरेपछि उनलाई गत मंगलबार सामान्य बार्डमा सारिएको छ।

रगत परीक्षण प्रतिवेदन र मुटुको चाल (इसीजी)मा सुधार देखिएपछि बार्डमा सारिएको भए पनि स्वास्थ्य नाजुक रहेको कार्कीले जानकारी दिए। उनको सेतो रक्तकोषको संख्या अझै पर्याप्त नभएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्। कार्कीले भने, ‘रक्तचाप निकै न्यून छ।’ स्वास्थ्य व्यक्तिको रक्तचाप सामान्य अवस्थामा १२०÷८० हुनुपर्नेमा डा. केसीको भने ८०÷९० रहेको उनले बताए। अहिले पनि मुटुको चाल मापन गर्न चौबिसै घण्टा इसीजी मनिटर जडान गरिएको छ।

चिकित्सा शिक्षा सुधारलगायतका मागहरू राखी अनशन बसेका डा. केसीसँग सरकारले नौ बुँदे सहमति गरेको थियो। सोही सहमति अनुसार नै राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसद्मा दर्ता भएको छ। काठमाडौं उपत्यकामा नयाँ मेडिकल कलेज खोल्न नपाइने, एउटा विश्वविद्यालयले पाँच भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिने नपाउनेलगायतका संशोधन विधेयकमा समेटिएको छ।

प्राध्यापक केदारभक्त माथेमा संयोजक रहेको चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदल प्रतिवेदन अनुरुपको ऐनको माग गर्दै उनी १५ औं पटकसम्म अनशन बसिसकेका छन्। पछिल्लो पटक उनी जुम्ला र काठमाडौंमा गरी हालसम्मकै सबैभन्दा लामो अनशन बसे। ‘कमजोरी अझैं छ। खाना खानु भएको छैन। भेट्न आएकासँग डाक्टरले नबोल्न भनेका छन्’, केसीका भाइ किशोरले भने। उनले जाउलो र झोलिलो पदार्थ खाइरहेका छन्। तर, उनीप्रति प्रधानमन्त्री केपी ओली भने अझै सकारात्मक बनेका छैनन। डा.केसीलाई भेटेको र माथेमा प्रतिवेदनप्रति समर्थन जनाएकोप्रति ओलीले आपत्ति जनाएपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पदबाट राजीनामा दिएका छन्। यसअघि डा.केसीको अनशनलाई लक्षित गर्दै विवादास्पद अभिव्यक्ति दिएका कानुनमन्त्री शेरबहादुर तामाङले पनि राजीनामा दिएका थिए। अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot