Logo

के हो सुगर ड्याडी ? आकर्षक युवती र पैसा !



काठमाडौैं, १८ साउन । कुस्त पैसा, रवाफिलो जीवनशैली । ढल्कँदो उमेरमा २४–२५ वर्षका दुई आकर्षक युवतीसँग रोमान्स । एउटा अपत्यारिलो तर सत्य । अझ रोचक त के भने ती दुवै युवती न त ती उदार जीवनशैली भएका धनाढ्य पुरुषकी श्रीमती हुन्, न त प्रेमिका नै । उनीहरूको सम्बन्ध केवल ‘लेनदेन’मा मात्र सीमित छ ।

ती धनाढ्य आफूसँग लहसिएका ती युवतीहरूका लागि ट्युसन फी, पकेट खर्च र मोजमस्तीको व्यवस्था गर्छन्, त्यसबापत ती युवतीहरू धनाढ्यसँग रोमान्स गर्छन् । छोराछोरी र श्रीमतीसमेत भएका ती धनाढ्यले कलेज पढिरहेका ती युवतीलाई बेग्ला–बेग्लै फ्ल्याटमा राखेका छन्, स्कुटर किनिदिएका छन् ।

केही समयअघि एक युवतीले आफूलाई ब्ल्यामेलिङ गरेको भन्दै एक जना धनाढ्य व्यवसायी महानगरीय प्रहरी परिसर काठमाडौं पुगेका थिए । प्रहरीले उक्त निवेदनमाथि छानबिन गर्दा पछि झन्डै २३ वर्षकी ती आकर्षक युवती ती धनाढ्यसँग लामो समयदेखि रिलेसनमा रहेको रहस्य खुल्यो ।

आफ्ना इच्छाहरू पूरा गरिदिने ती युवतीका लागि ती व्यवसायीले राम्रै पैसा खर्च गरेका थिए, यतिसम्म कि उनलाई राम्रो फ्ल्याटसमेत उपलब्ध गराएका थिए, तर त्यसबीच युवतीले आफूहरूबीचको नाजायज सम्बन्ध सार्वजनिक गरिदिने भन्दै अझ ठूलो रकम माग गरेपछि ती धनाढ्यले प्रहरी गुहारे ।

कुनै फिल्मी कथाजस्तो लाग्ने उपरोक्त घटना कस्मोपोलिटन सिटीका रूपमा विकसित हुँदै गएको काठमाडौंमा हुर्कन थालेको सम्भ्रान्त जीवनशैलीको एउटा सानो उदाहरण मात्र हो । केही समयअघि नेपाली समाजमा कल्पनै गर्न नसकिने यस्ता घटना अहिले सामाजिक स्टाटसका रूपमा अभ्यास हुन थालेका छन् ।

पश्चिमा समाजमा बाक्लै देखिने यस प्रकारको यौनिक व्यवहार विश्वव्यापीकरण तथा आधुनिकीकरणसँगै पूर्वीय समाजिक जीवनको पनि हिस्सा बन्न थालेको उक्त घटनाले देखाउँछ ।

कतिपय साहित्य तथा चलचित्रमा ‘सुगर ड्याडी’ का रूपमा व्याख्या गरिएका यस्ता उमेर छिप्पिएका वयस्क पुरुषहरूको यौन आकांक्षा पूरा गर्ने क्रममा पश्चिमा समाजमा कतिपय युवतीले आफ्नो आर्थिक तथा शारीरिक मागसमेत परिपूर्ति गर्दै आएका छन् ।

यौनका विषयमा खुल्ला र उदार मानिने पश्चिमा देशहरूमा आकर्षक युवती र अधबैंसे धनाढ्यबीचको यस्तो सम्बन्धलाई आजभोलि सामान्य रूपमा लिन थालिएको छ । ‘सुगर ड्याडी’को यस्तो किसिमको प्रचलन यौनका सम्बन्धमा बन्द मानिने पूर्वीय समाजका लागि भने अझै पनि अनौठो नै छ ।

तैपनि, पछिल्लो केही समययता काठमाडौंमा पनि यस्ता सुगर ड्याडी तथा सुगर ड्याडीको आवश्यकताअनुसार परिचालिन हुन तयार युवतीहरूको संख्या वृद्धि हुन थालेको छ । प्रायस् गरेर उच्च शिक्षा अध्ययन तथा करिअर बनाउन काठमाडौं पसेका नयाँ पुस्ताका युवतीहरू नै कथित सुगर ड्याडीको मोहजालमा पर्ने गरेका छन् ।

प्रेम, यौन र विवाहजस्ता कुरामा बन्द मानिने नेपाली समाजमा देखिएको यस्तो नवीनतम प्रयोगको कारण के हो त रु समाजशास्त्री मृगेन्द्रबहादुर कार्की भन्छन्— विश्व्यापीकरणको कुरा मात्र छैन नेपालको अहिलेको शिक्षा प्रणाली एवं जीवनलाई हेर्ने लेन्स नै पश्चिमले निर्माण गरिदिएको छ । यसै कारण हाम्रो समाज यस्तो प्रवृत्तितर्फ डोरिएको हो ।

कार्कीका अनुसार— हिजो यौनलाई कसरी हेरिन्थ्यो र आज कसरी हेर्ने भन्ने कुरामा हाम्रो समाजमा दुईवटा लेन्स छ, एउटा परम्परागत, अर्को आर्थिक । परम्परागत लेन्समा नैतिकता, मूल्य–मान्यता के हो रु त्यसको सीमा के हो रु भन्ने विषयमा हाम्रो समाजमा परम्परागत लेन्सले काम गर्ला, कार्की भन्छन्, तर आर्थिक लेन्सले हेर्दा एउटाको यौन र अर्कोको पैसासँग सम्बन्धित कुरा मिल्यो । दुवै आवश्यकताको कम्पोनेन्ट र लेन्सको हेराइ मिल्यो ।

धनीले केटीलाई, केटीले धनीलाई प्रयोग गर्ने र एक–अर्काका आवश्यकता परपूर्ति गर्ने कुरा मिल्यो, जसले गर्दा नै यो संस्कार हुर्कन मद्दत पुग्यो । आर्थिक लेन्सबाट जीवनशैलीलाई हेर्न थालिएका कारण पश्चिमा समाजका यस्ता प्रचलन नेपालमा पनि अभ्यास हुन थालेका हुन् ।

केही धनाढ्यले अपार्टमेन्ट लिएर ‘सुगर बेबी’हरू राख्ने चलन छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा डिएसपी मोहन थापाका अनुसार अहिले पैसा र सुख–सयलका लागि केही युवती आफ्ना सबै किसिमका आवश्यकता पूरा गरिदिने धनाढ्यसँग उसकै सर्तमा रिलेसन बनाउन थालेको देखिन्छ ।

केही धनाढ्य व्यवसायीले आकर्षक युवतीसँग सम्बन्ध बनाउन फल्याट, गाडी, स्कुटर तथा पैसा दिने र युवतीसँग रोमान्स गर्ने चलन पनि मौलाउन थालेको छ, डिएसपी थापा भन्छन्— यस्तोमा उनीहरू एक–अर्काको लाभहानिको हिसाब गरेर सम्बन्धमा बस्छन् ।

काठमाडौंमा समेत छिटफुट रूपमा देखिन थालेको ‘सुगर ड्याडी’को प्रचलनका पछाडि आर्थिक रूपमा कमजोर युवतीहरू बढी सक्रिय रहेको बताइन्छ । कमजोर आर्थिक अवस्थाका कारण कलेजको शुल्क तिर्न, आफ्नो दैनिक व्यवहार चलाउन तथा हाइफाई जीवनका आवश्यकता पूर्ति गर्ने क्रममा युवतीहरू यस्तो सम्बन्धका लागि तयार देखिन्छन् ।

गल्र्स नट ब्राइड नेपालका संस्थापक महासचिव खेम कार्की यो प्रचलन पहिलेदेखि नै नेपालमा यो वा त्यो ढंगले रहेको दाबी गर्छन् । ‘पहिलो कुरा गरिबी हो । नेपालमा पनि यो वा त्यो ढंगले पहिलेदेखि नै सुगर ड्याडी प्रचलनमा छ । यो सामन्ती समाजको रेमिनेन्ट हो ।

सुगर ड्याडी पैसा, शक्ति वा सम्पत्तिवाला सुविधा र रमाइलोका लागि कमजोर मान्छेलाई आनन्दका लागि प्रयोग गर्ने हो,’ उनी भन्छन्, ‘त्यसबापत दैनिक गुजारा रक, लुगा, कलेज शुल्क, स्कुटी वा यस्तै विलासितालगायतका आवश्यकताहरू सुगर ड्याडीले पूरा गर्छ ।’ उनका अनुसार यस्तो रिलेसनमा सुगर ड्याडीहरूले इन्टरटेनमेन्टका आफूलाई जसरी मन लाग्यो त्यसरी सुगर बेबीको प्रयोग गर्छन् ।

त्यसो भए धनाढ्य बुढाहरूसँग आकर्षक युवतीहरू लोभिनुको कारण के हो त रु ‘मुख्य कुरा त बूढाहरूसँग सम्पत्ति र पैसा हुन्छ, उसले पैसा दिन सक्छ । दोस्रो, बूढाहरू भाइब्रेट हुँदैनन् । उनीहरू हिसांत्मक सम्बन्ध राख्दैनन् भनेर युवतीहरूले बूढाहरूसँग प्रायस् यस्तो सम्बन्ध निर्माण गरेको देखिन्छ,’ उनी थप्छन् ।

काठमाडौंमा खासगरी, दरबारमार्ग, ठमेल, लाजिम्पाट आदि क्षेत्रमा रहेका बार, लाउन्ज तथा क्बलहरूमा रोमान्सका पारखी धनाढ्यहरूले युवतीहरूसँग परिचय बनाउने गरेको पाइन्छ ।

त्यस्ता ठाउँमा पनि हाइफाइ जीवनशैलीका लागि कतिपय युवती नै यस्तो सम्बन्ध निर्माणका लागि अग्रसर हुने बताइन्छ । कतिपय धनाढ्य व्यवसायीले आफ्नै कार्यालयमा काम गर्ने सुन्दर युवतीहरूसँग पनि यस्तो सम्बन्ध विकसित गरेको पाइन्छ ।

त्यसका अतिरिक्त श्रीमतीसँग लामो समयदेखि बिछोडिएका, श्रीमतीको मृत्यु भएकाहरूले छोराछोरीको चित्त दुखाएर अर्को विवाह गर्नुभन्दा त्यसको विकल्पका रूपमा पनि यस्तो सम्बन्धको अभ्यास गरेको जानकारहरू बताउँछन् ।

नेपालमा सुगर ड्याडी तथा सुगर बेबीको अवधारणालाई धनाढ्य वयस्क पुरुषसँग शारीरिक रूपमा आकर्षक र कम उमेरकी युवतीको यौनसम्बन्धका रूपमा मात्र बुझिँदै आएको छ । सुगर ड्याडीको परिभाषामा मानिसको शारीरिक आवश्यकतालाई मात्र मुख्य तत्त्व मानिँदैन ।

कतिपय अवस्थामा सुगर ड्याडी तथा सुगर बेबीको अवधारणामा रहनेहरूबीच यौनसम्बन्ध नहुन पनि सक्छ । उनीहरू खुसी र रमाइलोका लागि मात्र एक–अर्कालाई डेट गरिरहेका वा सँगै बसिरहेका हुन सक्छन् । सुगर ड्याडीसँग सम्बन्ध बनाउने र डेटिङ गर्ने युवतीहरूले मोटो रकम असुल्छन् ।

कतिपय अवस्थामा उनीहरूले आकर्षक गाडी, फ्ल्याटजस्ता सुविधा पनि सुगर ड्याडीबाट प्राप्त गर्छन् । सुगर ड्याडीसँग रिलेसनमा रहने युवतीलाई सुगर बेबीका रूपमा पनि चिनिन्छ । यस्तो सम्बन्धमा २० देखि ३० वर्षसम्मका युवतीहरू ४५ देखि ५५ वर्षसम्मका पुरुषहरूसँग सम्बन्ध बनाउँछन् ।

पछिल्लो समय धनाढ्य महिलाहरूले पनि आफ्नो आवश्यकता पूरा गर्न सुगर ब्वाईका रूपमा तन्नेरी केटालाई अनेकन प्रलोभन दिएर आफूले इच्छाएको ठाउँमा राखेको पाइन्छ, जसमा महिलाले आफ्ना सुगर ब्वाइका लागि पैसा तिर्छन् र उनीहरूलाई आफ्नो शारीरिक आवश्यकता परिपूर्तिका लागि प्रयोग गर्छन् । यस्तो सम्बन्धमा विवाह गर्नुपर्ने बाध्यता हुँदैन, उनीहरू दुवै स्वतन्त्र हुन्छन् । यस्तो सम्बन्धलाई वेश्यावृत्ति पनि मानिँदैन, किनभने यस्तो सम्बन्ध प्रायस्जसो एक जनासँग मात्र हुन्छ ।

के हो सुगर ड्याडी ?

वयस्क धनाढ्य पुरुषले कम उमेरकी सुन्दर युवतीलाई पैसा दिने, उनीहरूको आवश्यकता पूर्ति गरिदिने र त्यसबापत उनीहरूसँग सम्बन्ध बनाउने प्रचलनलाई ‘सुगर ड्याडी’ भनिन्छ ।

अक्सफोर्ड डिक्सनरीमा एउटा बुढ्यौली उमेरमा रहेको धनाढ्यले आफ्ना शारीरिक तथा अन्य आवश्यकताहरू परिपूर्तिका लागि कुनै परिचित युवतीलाई उपहारहरू दिएर आफ्नो रुचिअनुसार यौनिक व्यवहार गराउने चलनलाई नै सुगर ड्याडीका रूपमा परिभाषित गरिएको छ । उता अर्बान डिक्सनरी भन्छ— सुगर ड्याडी त्यस्तो व्यक्ति हो, जसले यौनसम्बन्ध राख्न युवतीका लागि पैसा र अन्य सहयोग गर्छ ।

सन् २०१८ मा बेलायतको प्रसिद्ध पत्रिका द सनले प्रकाशित गरेको एक समाचारअनुसार सुगर ड्याडी रिलेसन भनेको आकर्षक युवा महिला तथा उदार वयस्क मानिसबीचको सम्बन्ध हो ।

सन् २००२ मा सुगरड्याडीडटकम नामक अनलाइन सञ्चालनमा ल्याएका स्टीभन पास्टरनेकले सिएनएनलाई दिएको एक अन्तर्वार्तामा भनेका छन्— यस्तो सम्बन्धमा रहेका वयस्क तथा विवाहित पुरुषले कम उमेरका केटीलाई माया गर्ने र गाइड गर्ने भूमिका निर्वाह गर्छन् ।

सुगर ड्याडीमाथि बनाइएको एउटा छोटो वृत्तचित्र ‘द रियालिटी अफ बिंग अ सुगर बेबी’मा लभ, मनी, सेक्स, पावर, ट्रान्ज्याक्सन, सेक्स वर्क, फ्यान्टासीजस्ता कुरालाई सुगर रिलेसनको इलिमेन्टका रुपमा उल्लेख गरिएको छ ।

सुगर ड्याडी निकै प्रचलित रहेका देशमा रसिया, अमेरिका, बेलायत आदि प्रमुख छन् । सन् २०१३ मा सिएनएनले सार्वजनिक गरेको एक समाचारअनुसार सुगर ड्याडी रिलेसन बनाउन सहयोग गर्ने सिकिङ एरेन्जमेन्ट डटकमका युजरमध्ये ४४ प्रतिशत विद्यार्थी युवतीले अनलाइनबाटै ‘सुगर डेटिङ’ गरेका थिए ।

उक्त समाचारअनुसार त्यस्ता युवतीहरू कलेजको फिस तिर्न नसकेपछि सुगर ड्याडी रिलेसनमा बसेका थिए । नेपालमा भने अहिलेसम्म यस प्रकारको सम्बन्धमाथि कुनै ठोस अनुसन्धान सार्वजनिक भैसकेको छैन । साप्ताहिक



प्रतिक्रिया दिनुहोस्

Screenshot