जाजरकोट, १८ साउन । संचार सुविधाबाट बञ्चित रहेको बारेकोट गाउँपालिकाको तीन वटा स्थानमा नेपाल टेलिकमको नमस्ते मोबाइलको टावर निर्माण हुने भएको छ ।
हालसम्म संचारको भरपर्दो सुविधा नभएको बारेकोट गाउँपालिकाको काप्ती, सेरी र नायकवाडामा टावर निर्माण हुने भएको हो । विगत केही वर्ष यता संचार अभावले सास्ती झेल्दै आएका सेवाग्राहीले टावर निर्माण भएपछि नमस्ते मोबाइल सेवाको गुणस्तरीय सेवा उपभोग गर्न पाउने छन् ।
उक्त तीन वटा स्थानमा टावर स्थापना गर्नका लागि एस्टर नेपाल प्रालिले ठेक्कामा लिइ सामाग्री ढुवानीको काम शुरु गरिसकेको नेपाल टेलिकमका प्रबन्धक अनन्त मान सिंहले जानकारी दिए । उनका अनुसार नायकवाडाको रतनकोटमा हाल संचालनमा रहेको स्काइ मोबाइल सेवाको गुणस्तरलाई समेत अभिवृद्धि गरिनेछ भने नयाँ निर्माण हुने टावर असोज महिना देखि संचालनमा आउनेछन् ।
साविकको चार वटा गाविस रहेको बारेकोटमा संचार सुविधाको नाममा नायकवाडाको रतनकोटमा रहेको एकमात्र स्काइ मोबाइलको टावरमा बारम्बार खराबी आइरहदा सेवाग्राही हाल मर्कामा छन् । घाम लाग्दा नेटवर्क आउने र बादल लाग्दा नेटवर्क जाने समस्याले आजित भएका बारेकोटका सेवाग्राहीले यी टावर बनेपछि भने राहत पाउने गाउँपालिकाका अध्यक्ष महेन्द्र बहादुर शाहले बताए ।
बारेकोटमा संचार सुविधा पुर्याउनका लागि संचार मन्त्रालयत, नेपाल टेलिकम लगायतका विभिन्न निकाय बारम्बार ताकेता गरेपनि समयमै सुनुवाइ नहुदा जनगुनासो धेरै आएको बताउदै अध्यक्ष शाहले भने – “अब ढिलै भएपनि बारेकोटीबासीले भरपर्दो संचार सेवा तथा डाटा प्रयोग गर्न पाउने आशा लिएको छु । यसका लागि सहयोग गर्ने सम्पूर्ण सरोकारवाला व्यक्ति तथा निकायलाई धन्यबाद ज्ञापन गर्दछु ।”
बारेकोटमा नमस्तेको तीन वटा टावर निर्माण हुन भएपछि स्थानीयवासीहरु खुसी भएका छन् ।
बारेकोटमा कृषि विकास बैंकको शाखा स्थापना हुने
बारेकोट गाउँपालिकामा वित्तिय कारोबार गर्नका लागि जिम्मेवारी पाएको कृषि विकास बैंकले साउन महिना भित्रै आफ्नो शाखा स्थापना गर्ने तयारी गरेको छ । स्थापना हुने शाखाका कर्मचारीलाई तत्काल शाखा संचालन गरी कार्य गरेको प्रगती प्रतिवेदन पेस गर्न निर्देशन गरीसकेको बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले जानकारी दिए ।
त्यस्तै बैंकको शाखा संचालनका लागि एकजना शाखा प्रवन्धक, दुई जना सहायक स्तरका कर्मचारी लगायतका कर्मचारीहरु खटाईसकेको प्रमुख कार्यकारी अधिकृत सिटौलाको भनाई छ ।
गाउँपालिकामा बैंकको अभावमा वित्तिय कारोबार संचालन गर्न कठिनाई हुदा सदरमुकाम खलंगामा सम्पर्क कार्यालय खोलेर उपभोक्ताहरुको काम गर्नुपर्ने बाध्यता रहेको थियो । बारेकोटमै बैंकको शाखा स्थापना भएपछि बारेकोट गाउँपालिकाका सम्पुर्ण कामकाज बारेकोटको लिम्साबाटै संचालन हुनेछन् ।
बन संरक्षणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषसँग छलफल
बारेकोट र कुशे गाउँपालिकाको बन क्षेत्र तथा वन्यजन्तु संरक्षणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषसँग छलफल गरिएको छ । जिल्लामै पर्याप्त वनजंगल रहेका यी दुइ गाउँपालिकामा पछिल्लो समय वन विनाश, चोरी शिकारी लगायतका कार्यहरु बढ्न थालेपछि यी गाउँपालिकाका विभिन्न जंगलहरुलाई समेटेर संरक्षित क्षेत्र बनाउने विषयमा बहस तीव्र हुन थालेको हो ।
यहाँको पर्यटनलाई व्यावसायिकरण गर्नका लागि पर्यटन गुरुयोजना निर्माण, संरक्षण क्षेत्र र त्यसको आधार तयार गर्नका लागि पूर्व संभाव्यता अध्ययन तथा विस्तृत अध्ययन गर्न कोष र स्थानीय तहको संयुक्त साझेदारीका विषयमा छलफल भएको बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र बहादुर शाहले बताए । अहिले यी विषयमा प्रारम्भिक छलफल भएको र साझेदारीका लागि सहमती नजिक पुगेको समेत शाहले जानकारी दिए ।
छलफलमा स्थानीय तहका तर्फबाट बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र बहादुर शाह लगायत कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेत, कांग्रेस नेता बेदराज सिंह, पत्रकार हरिहर सिंह राठौर, पत्रकार सुरेन्द्र सिंह लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो भने कोषका तर्फबाट कोष संचालक समिति सदस्य सचिव गोविन्द गजुरेल, कार्यकारी निर्देशक दिपक कुमार सिंह, कार्यक्रम निर्देशक सरिता ज्ञवाली लगायतका व्यक्तिहरु सहभागी थिए ।