काठमाडौँ, १८ साउन । अठारौँ एसियाली खेलमा सहभागी हुने नेपाली राष्ट्रिय यु–२३ टोली मैत्रीपूर्ण खेलमा सहभागी हुन आज थाइल्याण्ड प्रस्थान गरेको छ । थाइल्याण्डमा रहँदा नेपाली टोलीले दश दिन बन्द प्रशिक्षण गर्नेछ । सो अवधिमा थाइल्याण्डसँग दुई मैत्रीपूर्ण खेल्न खेल्नेछ ।
प्रशिक्षणका क्रममा टोलीले यही साउन २२ गते थाइल्याण्डको पुलिस टेरोसँग र साउन २५ गते थाइल्याण्डको यू–२३ टिमसँग मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फूटबल संघ एन्फाले जनाएको छ ।
थाइल्याण्डमा १० दिन अभ्यास गरेपछि एसियाली खेलकूदमा भाग लिने २० सदस्यीय नेपाली यू–२३ टिम इण्डोनेसिया प्रस्थान गर्नेछ । एसियाली खेलकूदको फूटबलतर्फको प्रतिस्पर्धा साउन २९ देखि शुरु हुनेछ ।
एसियाली खेलकूदमा नेपाल समूह ‘डी’ मा छ । उक्त समूहमा नेपालसहित विश्वकपको अन्तिम १६ सम्मको यात्रा गरिसकेको जापान, भियतनाम र पाकिस्तान छन् । मुख्य प्रशिक्षक योतुकु कोजीले आइतबार बन्द प्रशिक्षणमा रहेका ४५ खेलाडीबाट अन्तिम टोली चयन गरेका थिए ।
एसियाली खेलमा २३ वर्षमुनिका खेलाडीसहित तीन सिनियर खेलाडी खेल्न पाउने छन् । त्यसका लागि किरणकुमार लिम्बू, रोहित चन्द र भरत खवासलाई टिममा राखिएको छ ।
नेपाली टोलीमा गोलरक्षक किरणकुमार लिम्बू, एलान न्यौपाने र सोजित गुरुङ, डिफेण्डरमा अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, सुमन अर्याल, दिनेश राजवंशी, गौरव बुढाथोकी, छिरिङ गुरुङ छन् ।
मिडफिल्डरमा रोहित चन्द, हेमन गुरुङ, हेमन्त थापामगर, अञ्जन विष्ट, अभिषेक रिजाल र तेज तामाङ र फरवार्डमा सुनील बल, भरत खवास, सुमन लामा, विमल घर्तीमगर छन् । मुख्य प्रशिक्षक योतुकु कोजी र सहायक प्रशिक्षक बालगोपाल महर्जन छन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा आज बिहान आयोजित कार्यक्रममा युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले नेपाली फूटबल टोलीलाई राष्ट्रिय झण्डा हस्तान्तरण गरी बिदाइ गर्नुभयो ।
सो अवसमा उहाँले खेलाडीलाई सफलताको शुभकामना दिँदै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न आग्रह गर्नुभयो । उहाँले एसियाली खेलकूद प्रतियोगिता आगामी वर्ष नेपालमा हुने १३ औँ साफ गेम्सको तयारीका रुपमा रहेकाले यो सहभागिता महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।
फूटबलको विकासमा मन्त्रालयकोतर्फबाट हुने सहयोगमा कमी हुन नदिने मन्त्री विश्वकर्माले प्रतिबद्धता जनाउनुभयो ।
अखिल नेपाल फूटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपालले एसियाली खेलकूद प्रतियोगिताका लागि तीन महिनादेखि अभ्यास गरिरहेको बताउनुभयो । रासस