Logo

फुटबलरको भत्ता वृद्धि



काठमाडौं १९ साउन । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदा र त्यसको तयारीमा रहँदा फुटबल खेलाडीले पाउँदै आएको भत्तामा वृद्धि गर्ने भएको छ।

एन्फाले हालै मस्यौदा गरिएको आर्थिक नियमावलीमै समेटेर खेलाडीले पाउने भत्तामा वृद्धि गर्न लागेको हो। जसअनुसार फुटबलरले अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी गर्दा तथा सहभागी हुँदा यस अघि प्रतिदिन पाइरहेको २० डलरको भत्तालाई बढाएर ३० डलर पुर्‍याइने प्रस्ताव गरिएको छ।

यस्तै उनीहरुले पाउँदै आएको तलवमा समेत सो अवधिका लागि भने ५० प्रतिशत रकम वृद्धि गरिने भएको छ। एन्फाले हाल पुरुष फुटबलरलाई मासिक १५ हजार र महिला फुटबलरलाई सात हजार तलव दिँदै आइरहेको छ।

अन्तर्राष्ट्रिय प्रतियोगिताका दौरान बन्द प्रशिक्षणमा रहँदा पुरुष खेलाडीले अब २२ हजार पाँच सय र महिला फुटबलरले १० हजार पाँच सय तलव पाउने छन्।

यस्तै सोही अवधिमा उनीहरुले दैनिक प्राप्त गर्ने भत्ता पनि २० डलरबाट बढेर ३० डलर पुग्ने छ। यद्यपी यो व्यवस्था लागू हुनका लागि साउन ३० गते चितवनमा हुने तय भएको एन्फाको साधारणसभाले आर्थिक नियमावलीमा समावेश गरिएको यो व्यवस्थालाई पारित गर्नुपर्ने हुन्छ।

एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले शुक्रबार खेलाडी बिदाइ कार्यक्रममा भत्ता वृद्धि गर्ने बताएका थिए। महासचिव इन्द्रमान तुलाधरका अनुसार आगामी साफ च्याम्पियनसिपदेखि लागू हुने गरी खेलाडीको भत्तामा वृद्धि हुने सम्भावना छ।

‘हामीले खेलाडीको तलव नै वृद्धि गर्न खोजेको होइन’, महासचिव तुलाधरले भने, ‘त्यही तलवका आधारमा उनीहरुले पाउँदै आएको भत्तामा भने वृद्धि गर्न लागेका हौं। सम्भवत यही ३० गतेको साधारणसभाले आगामी साफ च्याम्पियनसिपबाट लागु हुने गरी यो व्यवस्थालाई पारित गर्ने छ।’

नेपाली राष्ट्रिय फुटबल टोली आसन्न एसियाली खेलकुद प्रतियोगिता र साफ च्याम्पियनसिपको तयारीका लागि वैदेशीक बन्द शिविरमा सहभागी हुन शुक्रबार थाइल्यान्डतर्फ प्रस्थान गरेको छ। थाइल्यान्डमा दुई अभ्यास खेलसहित १० दिन बिताउने नेपाली टोली उतैबाट एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुन इन्डोनेशियातर्फ लाग्ने छ। अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot