Logo

विकास सहायता जुटाउन अर्थमन्त्री वासिङ्टन प्रस्थान



काठमाडौँ, १९ साउन । नेपाल सरकारको प्राथमिकताअनुसारका विकास आयोजना कार्यान्वयनमा विश्व बैंकबाट विकास सहयोग जुटाउन अर्थमन्त्री युवराज खतिवडा बैंकको मुख्यालय रहेको अमेरिकाको राजधानी वासिङ्टनडिसी तर्फ प्रस्थान गरेका छन ।

बैंकले नेपाल सरकारको प्राथमिकता अनुसारका विकास आयोजना कार्यान्वयन गर्न सन् २०१९ देखि २०२३ सम्मको पाँच वर्षे नेपालको विकासमा साझेदारी खाकालाई अन्तिम रूप दिने छलफलमा भाग लिन मन्त्री खतिवडालाई आमन्त्रण गरेको हो ।

सञ्चारकर्मीलाई भ्रमणबारे जानकारी दिँदै उनले विश्व बैंक समूहबाट नेपालले आफ्नो विकासका लागि प्राप्त गर्नसक्ने अधिकतम लाभ लिन तथा नेपालको आर्थिक सोच एवं रणनीति र संघीयता कार्यान्वयनको मार्गचित्र प्रस्तुत गर्ने बताएका छन ।

“मुलुकको समग्र विकासको लागि वित्तको अधिकतम उपयोग गर्न नेपाल सरकारको मार्गचित्र प्रस्तुत गर्नका साथै नेपाललाई सहयोग गर्ने अन्य द्विपक्षीय र बहुपक्षीय विकास साझेदारहरूसँग छलफल गर्नेछु,” उनले बताए ।

अर्थमन्त्रीले विश्व बैंकका उच्च व्यवस्थापन समूह, अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग, अन्तर्राष्ट्रिय मुद्राकोषका पदाधिकारीसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने जानकारी पनि गराए ।

नेपालको विकासका साझेदारसँग उनीहरुबाट प्राप्त सहयोगको समीक्षा गरी थप सहयोगका क्षेत्रहरूमा छलफल तथा निजी क्षेत्रका लगानीकर्तासँग नेपाल सरकारको आर्थिक नीति तथा लगानीका सम्भावनाका बारेमा पनि विचारविमर्श गर्ने योजना रहेको उनले बताएका छन।

“वर्तमान सरकारले जनतासमक्ष प्रस्तुत गरेका प्रतिबद्धता पूरा गर्न आवश्यक पर्ने आर्थिक तथा भौतिक पूर्वाधारहरूको विकासका लागि थप लगानी जुटाउन यो भ्रमण उपयोगी हुने मेरो अपेक्षा छ,” अर्थमन्त्रीले जानकारी गराए । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot