Logo

चार घण्टापछि नारायणगढ­-मुग्लिन सडक एकतर्फी सञ्चालन



काठमाडौं, १९ साउन । चितवनको भरतपुर महानगरपालिका–२९ घुमाउनेमा पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ­मुग्लिन सडकखण्ड चार घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार शनिबार बिहान ६ बजे खसेको पहिरोका कारण अवरुद्ध हुन पुगेको सडक १०ः३० बजेबाट एकतर्फी सञ्चालनमा आएको हो।

अहिले रोकिएका गाडीलाई गन्तव्यतर्फ पठाउन थालिएको चितवनका ट्राफिक प्रहरी प्रमुख बेदप्रसाद गौतमले बताए। उनका अनुसार पहिरो खसेको स्थानमा अहिले पनि ढुंगा खस्ने क्रम भने जारी नै छ। लोडरको सहायताले पहिरो पन्छाएर गाडी दुईतर्फी बनाउने प्रयास जारी रहेको गौतमले जानकारी दिए।

राति परेको वर्षाका कारण यहाँ पहिरो खसेको हो। पहिरो खसेपछि प्रहरीले काठमाडौँबाट आउने गाडीलाई मुग्लिनमा र चितवनबाट जाने गाडीलाई सिमलतालमा रोकेको थियो। सो क्षेत्रमा गाडीको लामो लाइन छ। एकतर्फी सडक खुलेपछि बीचमा अड्किएका गाडीलाई भने गन्तव्यमा पठाउन थालिएको छ।

नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत विभिन्न स्थानमा पहिरो जाने क्रम जारी छ भने पछिल्लो एक हप्तादेखि ढुंगा खस्ने क्रमसमेत बढेको प्रहरीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot