Logo

आर्यन र साम्राज्ञीको क्रेज हजारमा, ‘कायरा’ करोडमा



काठमाडौं, २० साउन । शुक्रवारबाट प्रदर्शनमा आएको अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर फिल्म ‘कायरा’ ले घरेलू बजारमा सुखद सुरुवात गरेको छ । फिल्मको ओपनिङ अकुपेन्सी ६० प्रतिशत थियो । शुक्रवारभन्दा फिल्मको कलेक्सन ग्राफ शनिवार उकालो लागेको छ ।

शनिवार बिहान ६५ प्रतिशत रहेपनि ‘कायरा’ ले दिउँसोदेखि साँझसम्म शतप्रतिशत अकुपेन्सी कायम गरेको छ । बिहान पानीका कारण सिंगल थिएटरमा दर्शकको उपस्थिति न्यून भएपनि मल्टिप्लेक्समा राम्रो थियो ।

विशेषतः यो फिल्मलाई युवा वर्गका दर्शकले रुचाएका छन् । आर्यन र साम्राज्ञीको जोडीको तारिफ भएको छ । फिल्म हेर्न हल पुग्नेहरु १६ र २० वर्ष उमेर समुहका बढी छन् । समीक्षक र दर्शकको एक ठूलो वर्गले भने फिल्मको कथालाई लिएर आलोचना गरेका छन् ।

फिल्म हेर्न हल पुगेका दर्शकसँग साक्षात्कार गर्न आर्यन र साम्राज्ञी शनिवार विभिन्न हलमा पुगेका थिए । काठमाण्डौको अष्टनारायण हलमा पुगेको यो कपलसँग तस्बिर खिचाउनेको भिड नै लाग्यो । अष्टनारायणको हजार सिट संख्याको हल दिउँसो २ बजे हाउसफुल भएको थियो ।

मध्यान्तरपछि अष्टनारायण छिरेका आर्यन र साम्राज्ञीले फिल्म नै रोकेर दर्शकलाई अभिवादन गरे भने फिल्म रुचाइदिएकोमा धन्यवाद दिएका थिए । अभिनेता-अभिनेत्री फिल्म हेर्ने दर्शकको उपस्थिति देखेर दंग देखिन्थे ।

शनिवार दिउँसोदेखि साँझसम्म काठमाण्डौका जय नेपाल, कुमारी, सिभिल मल, लबिम मल, बीग मुभिजमा फिल्मले पाएको सबै शोमा हाउसफुलका साथ दर्शकले फिल्म हेरे । राजधानीका गोपीकृष्ण, गुण, गंगा जस्ता मध्यम वर्गीय दर्शकको चाप रहने हल पनि हाउसफुल रहे ।

यस्तै, काठमाण्डौ बाहिरका चितवन, पोखरा, वुटवल, दमक, विर्तामोड, धरान, इटहरीमा पनि दर्शकको उपस्थिति आक्रामक देखिएको वितरक सुनील मानन्धरले जानकारी दिए । उनले ‘कायरा’ को कलेक्सन यस वर्ष प्रदर्शनमा आएका फिल्महरुभन्दा उच्च रहेको दाबी गरेका छन् ।

दिउँसो दर्शक प्रतिक्रिया बुझ्न अष्टनारायण पुगेका उनले भने, राजधानी भित्र र बाहिरका हलमा दर्शक अभाव छैन । कति त टिकट नपाएर घर समेत फर्किए ।

नेपाली फिल्मप्रति दर्शकको यस्तो क्रेज निकै कम देख्न पाइन्छ । मुसालधारे पानीका बाबजुद् पनि दर्शकहरु फिल्म हेर्न हल पुगिरहेका छन् । उनले फिल्मको दुई दिने कलेक्सन करोड माथि हुने बताए ।

फिल्मका निर्माता समेत रहेका अभिनेता आर्यन सिग्देलले दर्शकको साथ र मायाबाट आफू प्रफुलित भएको सुनाए । उनी भन्छन्, ओपनिङदेखि नै पानी परिरहेको छ ।

तर दर्शकले पानीलाई पनि मात दिएर हलसम्म गएर फिल्म हेरिरहनु भएको छ, त्यो हाम्रो लागि खुसीको कुरा हो । उनले आफ्नो र साम्राज्ञीको केमेस्टी रुचाइदिएकोमा पनि दर्शकलाई धन्यवाद दिए ।

अभिनेत्री साम्राज्ञी फिल्मलाई मिलेको सुखद प्रतिक्रियाबाट उत्साहित भएको बताउँछिन् । उनी भन्छिन्, हाम्रो मिहिनेत कस्तो होला भन्ने खुब डर थियो ।

दर्शकले राम्रो भन्दा मन फुरुङ्ग भएको छ । हलमा उनीसँग सेल्फी खिच्नका लागि दर्शकबीच नै हानाथाप भएको थियो । साम्राज्ञीसँग सेल्फी खिच्नकै लागि बिहानैदेखि गोपी र अष्टनारायण हलमा सयौं युवती फ्यानहरु कुरेर बसेका थिए ।

यस फिल्मका निर्देशक लक्ष्मण रिजाल हुन् । उक्त फिल्ममा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठलगायतका कलाकारहरु पनि अभिनय छ । कोशिश क्षेत्री, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको ‘कायरा’ का गीतमा प्रविण सिंहले कोरियोग्राफी गरेका छन् ।

आर्यन सिग्देलकै कथा रहेको यसमा स्क्रिन प्ले र डाइलग केदार भुषालको छ भने निर्मातामा निर्देशक रिजाल छन् । यो फिल्ममा बनिष शाह र मिलन श्रेष्ठले सम्पादनको जिम्मेवारी सम्हालेका छन् ।

शिवराम श्रेष्ठले फिल्मका हरेक सिन खिचेका हुन् । राजकुमार भट्ट कार्यकारी निर्माता रहेको ‘कायरा’ मा दिनेश थापा र दिवस पराजुली सह-निर्मातामा छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot