Logo

एकाउन्न प्रतिशत मात्र राजश्व असुल



काठमाडौँ, २० साउन । आर्थिक वर्ष २०७४÷७५ मा काठमाडौँ महानगरपालिकाले लक्ष्य गरेको भन्दा ५१ प्रतिशत मात्र राजश्व संकलन गरेको छ ।

महानगरपालिकाले गत आवमा रु १० अर्ब २७ करोड ४१ लाख ७४ हजार राजश्व उठाउने लक्ष्य राखेकामा रु पाँच अर्ब ३१ करोड ८३ लाख ४३ हजार राजश्व संकलन गरेको छ । सबैभन्दा बढी घरजग्गा करतर्फ रु ५७ करोड ५९ लाख ७८ हजार राजश्व असुल गरेको छ । घरबहाल करतर्फ रु ५६ करोड ३५ लाख ८ हजार तथा विज्ञापन कर र व्यवसाय करतर्फ रु रु १०÷१० करोड राजश्व असुल गरेको छ ।

महानगरपालिकाका राजश्व महाशाखा प्रमुख राज्यप्रकाश प्रधानाङ्गका अनुसार सबैभन्दा कम सव–वे करतर्फ रु ५४ हजार असुल गरिएको छ । आव २०७३÷७४ मा रु दुई अर्ब ७८ करोड ८१ लाख १६ हजार राजश्व संकलनको लक्ष्य लिएकामा रु दुई अर्ब ८२ करोड ५१ लाख १३ हजार संकलन भएको प्रधानाङ्गले बताएका छन ।

अघिल्लो आवमा बक्यौता रकम धेरै बाँकी नरहेको तथा बाँकी रकमसमेत असुल हुन नसकेका कारण ५१ प्रतिशत मात्र राजश्व संकलन भएको उनको भनाइ रहेको छ ।

“अघिल्लो आवमा एउटै संस्थाले रु ३० करोडसम्म बक्यौता तिरेको थियो, यस वर्ष त्यो अवस्था रहेन,” प्रमुख प्रधानाङ्गले भने । महानगरपालिकाले बसपार्क सेवा शुल्क रु ५० लाख असुल गर्ने लक्ष्य लिएकामा रु ४० लाख संकलन भएको छ ।

सवारी करतर्फ रु दुई करोड लक्ष्य लिएकामा रु ३१ लाख नौ हजार मात्र असुल गरेको छ । मालपोत कर भने रु १० करोड लक्ष्य लिएकामा रु ११ करोड ३० हजार असुल गर्न सफल भएको राजश्व महाशाखाले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot