Logo

४५ लाख क्षतिपूर्ति तिरेर फर्के राई



काठमाडौं२१ साउन ।  साउदी अरबको अदालतमा क्षतिपूर्तिबापत एक लाख ५० हजार रियाल (झन्डै ४५ लाख रुपैयाँ) बुझाएपछि इलामका प्रेमबहादुर राई जेलमुक्त भएका छन् । उनी जेट एयरमार्फत आइतबार दिउँसो स्वदेश फर्किए ।

साउदीमा जेलबाट छुटेर त्रिभुवन विमानस्थलमा आइपुगेका प्रेमबहादुर राई आफ्ना पत्नी सरिता र छोरीसँग । राईले चलाएको मालवाहक गाडी चोरी भएपछि साउदी अदालतले उनलाई दुई महिना जेल र ५० कोर्राको फैसला सुनाएको थियो । उनी कार्यरत कम्पनीले निजी कानुनअनुसार ८ लाख रियाल क्षतिपूर्ति माग गरेपछि अदालतले राईले ३ लाख १० हजार रियाल दिनुपर्ने फैसला सुनाएको थियो ।

नेपाली दूतावासको अनुरोधमा राईका मालिक मोहम्मद सल्वाईले आधा पैसा मिनाहा गरेका थिए । त्यसपछि राई बचाउ अभियान समितिले संकलन गरेको ४३ लाख रुपैया साउदी पठाएको थियो ।

राईले आफू परिबन्दमा परेको भन्दै उद्धार गर्न आग्रह गरेपछि प्रेम राई बचाउ अभियान सञ्चालन गरी रकम संकलन गरिएको थियो । अभियानले रकम उठाएर परराष्ट्र मन्त्रालय हुँदै नेपाली दूतावासमार्फत बुझाएको थियो ।

‘मलाई जेलबाट निकाली नेपाल ल्याउन नेपाली दाजुभाइहरूले एक/एक पैसा दिनुभएको छ । त्यो सहयोगले मैले आफ्नो परिवार भेट्न पाएँ,’ त्रिभुवन विमानस्थलमा उनले भने, ‘ममाथि अन्याय भएको थियो । त्यसविरुद्ध नेपाली दाजुभाइ लडेर मलाई नेपाल ल्याइदिनुभयो ।’
माई नगरपालिका–४, इलामका राई २०१६ मार्च ३१ देखि जेलमा थिए ।

उनी सन् २०१२ देखि साउदीस्थित अल सल्वावी इन्टरनेसनल होल्डिङ कन्ट्रस्क्टिङ कम्पनीमा चालकको काम गर्दै आएका थिए । बिदाबाट फर्केको साढे दुई महिनापछि तामाको तार लोड भएको गाडी राजधानी रियादको जनद्रियाबाट हराएको थियो । ‘सामान पुर्‍याउने कम्पनी बन्द भइसकेको थियो । सडक छेउमा गाडी राखेर साथीको कोठामा खाना खाएर फर्किंदा गाडी देखिनँ । नदेख्नेबित्तिकै कम्पनीको म्यानेजर र प्रहरीलाई खबर गरेको थिएँ,’ प्रेमले अदालतसमक्ष बयानमा भनेका थिए, ‘म पूर्ण रूपमा निर्दोष छु ।’ कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot