Logo

स्वास्थ्यचौकीको भवनका लागि जग्गा प्रदान



पर्वत, २१ साउन । यहाँका एक दम्पतीले गाउँमा स्वास्थ्यचौकीको भवन बनाउन रु ३० लाख पर्ने जग्गा निःशुल्क दान गरेका छन् । पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटमा शहरी स्वास्थ्यचौकीको भवन बनाउनका लागि जग्गा अभाव भएपछि स्थानीय छत्रबहादुर क्षेत्री र उहाँकी श्रीमती भद्रकला क्षेत्रीले पाँच आना बराबरको जग्गादान गरेका हुन् ।

गाउँका नागरिकलाई प्रत्यक्षरुपमा स्वास्थ्यको पहुँच पु¥याउने उद्देश्यले दिवंगत आफ्नो साहिलो छोरा खड्काबहादुर क्षेत्रीको स्मृतिमा जग्गादान गरेको छत्रबहादुरले बताउनुभयो । उहाँका छोरा खड्काबहादुर क्षेत्रीको करीब १२ वर्ष अघि रोजगारीको सिलसिलामा साउदी अरबमा मृत्यु भएको थियो ।

जग्गाको लाजपूर्जा आइतबार शहरी स्वास्थ्य केन्द्रको नाममा नामाकरण गरिएको छ । उक्त जग्गाको लालपूर्जा जग्गादाताले शहरी स्वास्थ्यचौकीका अध्यक्ष तथा वडाध्यक्ष यदुनाथ बास्तोलालाई हस्तान्तरण गर्नुभएको हो ।

स्वास्थ्य क्षेत्रको विकासका लागि योगदान गरेको भन्दै जग्गादातालाई कुश्मा नगरपालिकाका प्रमुख रामचन्द जोशी र कुश्मा नगरपालिका २ खुर्कोटका वडाध्यक्ष यदुनाथ बास्तोलाले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । नगरप्रमुख जोशीले जग्गा प्राप्त भएसँगै आवश्यक सुविधासहितको भवन निर्माण गर्ने प्रक्रिया अघि बढाइने बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot