Logo

ऐतिहासिक रानीमहल तानसेनलाई हस्तान्तरण



पाल्पा, २१ साउन । पाल्पामा कालीगण्डकी नदी किनारमा झण्डै बेवारिस अवस्थामा रहेको रानीमहल पुरातत्व विभागले तानसेन नगरपालिकालाई हस्तान्तरण गरेको छ । नेपालको ताजमहल समेत भन्ने गरिएको उक्त ऐतिहासिक सम्पदाको हस्तान्तरणसंगै अब उक्त महलको व्यवस्थापन तथा संरक्षणको सम्पूर्ण जिम्मेवारी तानसेन नगरपालिका सरेको छ। भूकम्पबाट क्षति पुगेको दुई वर्ष पुग्दा पनि पुरातात्विक सम्पदा पुनर्निर्माण सुस्त रहेको छ।

नयाँ अभ्यास

पुरातत्व विभागका अधिकारीहरूका अनुसार रानीमहलको व्यवस्थापनको जिम्मा स्थानीय सरकार अर्थात् तानसेन नगरपालिकालाई दिएर संरक्षणको नयाँ अभ्यास थालिएको हो। हाल विभागले सो महल १० वर्षका लागि मात्र तानसेनलाई सुम्पेको छ।

दिवंगत श्रीमती तेजकुमारीको सम्झनामा १९५० मा सो महल बनाउन लगाएका पश्चिम नेपालको कमाण्डर रहेका खड्ग शमशेर राणा जिम्मेदारीबाट हटाइएपछि पाल्पाबाटै भारत पलायन भएको र त्यसयता सो महल खाली रहेको बताइन्छ।

नगरप्रमुख अशोक शाहीका अनुसार वर्षौंदेखि बेवारिस जस्तै थियो। हामीले त्यसको जिम्मा पाएपछि अब स्थानीय बासिन्दाले अपनत्व महसुस गर्ने गरी संरक्षणको काम सुरु गर्छौं ।

उनी भन्छन्, रानीमहलको व्यापक प्रचार-प्रसार एवम् संरक्षणको खाँचो छ। हाम्रो सामर्थ्यले भ्याउने जति काम गर्नेछौं र स्थानीय बासिन्दालाई पनि सहभागी गराएर त्यसलाई पर्यटक आकर्षण गर्ने थलोको रूपमा विकास गर्छौं। संरक्षण गर्दा महलको स्वरूपमा भने कुनै प्रकारको परिवर्तन गर्न नपाईने गरी विभाग र नगरपालिकाबीच सम्झौता भएको बताईएको छ।

यस्ता सम्पदा स्थानीय सरकारलाई दिनु सकारात्मक भएको टिप्पणी गर्दै संस्कृतिविद् निर्मल श्रेष्ठ अब त्यो महलसंग जोडिएका तथ्यहरू खोजेर त्यसलाई पर्यटकीय क्षेत्रको रुपमा बृहत् विकासमा नगरपालिका अग्रसर हुनुपर्ने औंल्याउँछन् । श्रेष्ठ भन्छन्, पुरातत्व विभागले रानीमहल पूर्णरुपमा नगरपालिकालाई दिएमा त्यसको संरक्षण गर्न सजिलो हुनेछ।

कुनै बेलाका पश्चिम नेपालको कमाण्डर रहेका खड्ग शमशेर राणाले आफ्नी दिवंगत श्रीमती तेजकुमारीको सम्झनामा विक्रम संवत् १९५० मा सो महल बनाउन लगाएको मानिन्छ । पछि कमाण्डरको जिम्मेदारीबाट हटाइएपछि उनी पाल्पाबाटै भारत पलायन भएका थिए। त्यसयता सो महल खाली छ। बीबीसी नेपाली



प्रतिक्रिया दिनुहोस्