Logo

रातोपाटी डटकमको प्रधानसम्पादकमा सिम्खडा नियुक्त



काठमाडौं, २१ साउन । डिस्कभरी न्युज नेटवर्कद्वारा प्रकाशित रातोपाटी डटकमको प्रधानसम्पादकमा पत्रकार जिवेन्द्र सिम्खडा नियुक्त भएका छन् ।

डिस्कभरी व्यवस्थापनले सोमबार पुल्चोकस्थित कार्यालयमा एक कार्यक्रमको आयोजना गरी सिम्खडालाई प्रधानसम्पादकमा नियुक्त गरेको हो । अध्यक्ष विजया शर्माले स्वागत गर्दै सिम्खडाको नियुक्तिले रातोपाटीले थप उचाइ लिने विश्वास व्यक्त गरिन् ।

सिम्खडालाई पदभार हस्तान्तरण गर्दै संस्थापक एवम् निवर्तमान प्रधानसम्पादक ओम शर्माले सिम्खडाले रातोपाटीलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरे । उनले भने, ‘विभिन्न आरोह अवरोहका बीच रातोपाटी यो अवस्थामा आइपुगेको छ, अब नयाँ प्रधानसम्पादकज्यूले संस्थालाई थप उचाइमा पुर्याउनुहुनेछ भन्ने विश्वास लिएको छु ।’

यस्तै नवनियुक्त प्रधानसम्पादक सिम्खडाले आफू टिमवर्कमा विश्वास गर्ने भन्दै सबै सञ्चारकर्मी इमानदार र सिर्जनशील भएर काम गरे रातोपाटीलाई लोकप्रियताको शिखरमा पु्रयाउन सकिने बताए । ‘म टिमवर्कमा विश्वास गर्छु । सबै सहकर्मी सिर्जनशील भएर काम गरे अवश्य शिखरमा पुग्न सकिन्छ’ सिम्खडाले भने ।

धादिङ दार्खाका सिम्खडाले २०४६ सालको जनआन्दोलन सघाउन निकालिएको समालोचना दैनिकबाट पत्रकारिता सुरु गरेका थिए । त्यसपछि जनमञ्च साप्ताहिक, कान्तिपुर दैनिक, स्पेसटाइम दैनिक, राजधानी दैनिक, समय साप्ताहिक लगायतका पत्रपत्रिकामा कार्यरत सिम्खडा यसअघि अन्नपूर्ण पोस्ट दैनिकको सम्पादक थिए । समाचार स्रोत तथा तस्विर सौजन्य : रातोपाटी डटकम

 



प्रतिक्रिया दिनुहोस्