Logo

झरीसँगै आँसुको बर्षा



काठमाडौं २२ साउन । खहरेस्थित हाईल्याण्ड इङलिस स्कुलको कक्षा ६ मा सोमबार निशान खडका उपस्थित थिएनन् । उनी बस्ने बेन्च खाली थियो । रातभर झरी परेकाले निशान स्कुल नआएका होलान् भन्ने उनका सहपाठीको अन्दाज थियो । तर अनुमान पनि गरेका थिएनन् साथीसंग अब कहिल्यै भेट हुदैन भनेर ।

निशानको अनुपस्थितीको कारण बुझ्न आइतबारको घटनामा पुग्नुपर्छ । सिन्धुपाल्चोकको मेलम्चीबाट बसाई सरेर पेप्सीकोला टाउन प्लानिङमा खाना र चिया बेच्ने सानो रेष्टुरा चलाएर दुई छोरी र कान्छो छोराको हेरचाह गरेर बसेकी थिइन्, चमेली खडका ।

उनको सानो रेष्टुरामा खाना खान कुल्लीदेखि घर निर्माणमा संग्लन मजदुर र पेन्टरसम्म आउँथे । सधै झै आईतबार निशान घर आए । आफ्नै शैलीमा फ्यात्त झोला फाले र खाजा खाएर खेल्न निस्के । ११ बर्षिय निशान साँझ झमक्कै भईसक्दा पनि फर्किएनन् । रात ढल्किदै जाँदा निशानको फिक्रीले चमेली छटपटाउन थालिन् ।

रातीको नौ बज्यो । चमेलीको मोबाईल लगातार बज्न थाल्यो । उनले मोबाईल त उठाईन् तर उताबाट बोल्नेको कुरा प्रस्ट बुझिएन । एकैछिनमा फेरी सोही नम्बरबाट फोन आयो । फोन गर्नेले धम्कीको स्वरमा सोझै भन्यो, ‘तपाईको बाबु हाम्रो कब्जामा छ ।

४० लाख लिएर आउनु । प्रहरीलाई खबर नगर्नु,’ सोमबार बिहान अपहरणकारीको खोजी भईरहेका बेला कान्तिपुरसँगको कुराकानीमा चमेलीले अघिल्लो साँझको घटना सुनाईन् । उनको स्वर रुँदारुदै थाकेर भास्सिएको थियो । ‘खै के पो हुन्छ होला,’ उनले आत्तिएको स्वरमा सोधिन, ‘के हुन्छ होला ?’
नाती अपहरण भएको खबर सुनेर नजिकै बस्ने मावली हजुरबा मिनप्रसाद सापकोटा र मामा रामकाजी सापकोटा चमेलीको डेरामै राति नै आए ।

उनीहरुले तत्काल प्रहरी परिसर टेकू पुगेर खबर गरे । प्रहरीले प्रारम्भिक अनुसन्धानपछि खोजी अगाडी बढायो । चमेली र रामकाजी प्रहरीसँगै राती १२ बजेसम्म खोजीमा जुटे । निशानको केही पत्तो नभएपछि कोठामा आए । रामकाजीले रातीको घटना सुनाउँदै भने, ‘भान्जाको चिन्तामा रातभरी कसैले झिमिक्क गरेनौं । दिदी रोईरहिन् ।’

चमेली मिनेट मिनेटको हिसाब गरेर छटपटीमा समय कटाईरहेकी थिईन । सोमबार बिहानको कुराकानीमा चमेलीले छोरा अपहरणको कुरा मलेशिया रहेका श्रीमानलाई नभनेको बताउँदै थिईन् । उनले दबेको स्वरमा भनिन, ‘कसरी पो भन्नु । थाहा पाउनुभो भने के होला ?’

दिउँसो चमेलीको डेरामा पुग्दा सिमसिम पानी परिरहेको थियो । डेरामा निशानका हजुरबा मिनप्रसाद आँखाको डिलभरी आँसु बनाएर बसिरहेका थिए । उनी केही बोल्न खोज्थे तर शब्द किलकिलेमै अडकिन्थ्यो ।

एकैछिन अघि आएर प्रहरीले चमेलीलाई लिएर गएको उनैले बताएपछि थाहा भयो । चमेलीलाई लिएर जानेबित्तिकै दर्के झरी परेको थियो । मिनको फोन किर्र(किर्र बजिरहेको थियो । उनी फोनमा अडकलेर बोलीरहेका थिए । उनी फोनमै कसैलाई सम्झाईरहेका थिए, ‘नरो त । पिर नगर भन्या ।’ यति भनेर फोन राखेपछि उनले आँखाको डिलमै आएर अडिएको आँसु हर्थुङगोले पुछे ।

हामी निस्कने बेलामा मिनले भने, ‘नाती केटोलाई केही नहोस । त्यसलाई केही भो भने त चमेली मर्छे रोएर ।’ पानी रोकिन थालेपछि हामी प्रहरीले चमेलीलाई लिएर गएको ठाउँ खोज्दै हिड्यौं । तरकारी खेतीका कारण प्रसिद्धी कमाएको भक्तपुरको नगदेशमा एउटा विहार छ । त्यसैको तल्लो पाखामा तरकारी खेती छ । वडा नम्बर ९ स्थित श्याम लवटको भर्खरै खनेको जग बरीपरी झरीको पर्वाह नगरी सयौं स्थानीय भेला भएका थिए । पानी जमेको जगको खाल्डोबाट प्रहरीहरु घोप्टो परेका निशानलाई तानेर निकाल्दै थिए ।

अर्जेन्टिनाको जर्सी लगाएका निशानको आँतमा धुकधुकी थिएन् । उनको मुखमा केही कोचीएजस्तो देखिन्थ्यो भने घाटीमा सलजस्तो कपडा कसिएको देखिन्थ्यो । भेला भएका स्थानियको मुखमा आश्चर्य र पीडामिश्रित आवाज आईरहेको थियो । छोराको मृत देह देखेपछि चमेली आकाश फाट्ला झै गरेर चिच्याईन् । उनको आँखाबाट घोप्टिएका आँसु आकाशबाट परेको पानीमा मिसिईरहेको थियो । उनलाई आफन्तले दुई पाखुरामा टेको दिएर उभ्याईरहेका थिए । तर चमेली आफूलाई धान्न सक्ने हालतमा थिईनन् ।

अपहरणको श्रृंखला
अपहरणपछि फिरौती माग गर्ने र घटना सार्वजनिक हुने डरले अपहरितको हत्या गर्ने आपराधिक प्रवृत्ति काठमाडौंमा देखिने गरेको छ । प्रहरी सक्रियता र सिसिटिभीको व्यापकताका पछि राजधानीमा अपहरणका घटना न्युन भईरहेका थिए । आर्थिक बर्ष २०७०/७१ मा अपहरण तथा शरीर बन्धकसम्बन्धी ९ घटना भएका थिए ।

काठमाडौंका निम्ती आर्थिक वर्ष २०७१/७२ अपहरणशुन्य बर्ष थियो । आर्थिक बर्ष २०७२/७३ मा अपहरणको संख्या ४ पुगेको थियो भने त्यसपछिको बर्ष अर्थात् आर्थिक बर्ष २०७३/७४ मा दुईवटा अपहरणका घटना भएका थिए । पछिल्लो आर्थिक बर्ष २०७४/७५ मा भने अपहरणको एउटा मात्रै घटना भएको देखिन्छ ।

सोमबार भएको अपहरण र हत्याको घटनाले भने प्रहरीलाई पनि झस्काइदिएको छ । अनुसन्धानमा संग्लन एक प्रहरीका अनुसार अपहरणको घटना व्यवसायिक आपराधिक समूहबाट भएको देखिन्न । जसबाट नितान्त छिटो पैसा कमाउने र धनी बन्ने सपनाबाट प्रेरित भएर अपहरण गरेको देखिन्छ । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot