काठमाडौं २२ साउन । कुशे गाउँपालिका ५ की शर्मिला परियार र उनका तीन भाइ ठाँटीबजारस्थित जितबहादुर सुनारका घरमा डेरा गरी बस्थे । आइतबार बिहानै भाइहरूलाई ‘होमवर्क गरेर बस्नु’ भनी एक घण्टा परको रिसाङ गाउँस्थित आफन्तको घरतिर लागिन् । उनी रिसाङ पुग्न नपाउँदै पहिरो खसेको आवाज सुनियो । हतार–हतार डेरा फर्किइन् ।
फर्किंदा डेरा बसेको घरको नामोनिसान फेला पार्न सकिनन् । पहिरोले घरसँगै उनका दुई भाइ गोविन्द र दशरथलाई पुरिसकेको थियो । अर्का भाइ सुरेन्द्र धारामा पानी भर्न गएकाले बचेछन् ।
उक्त दिन बिहान विद्यालयले दिएको होमवर्क गरिरहेका अन्य दुई बालक नवीन परियार र नरेन्द्र परियार पनि पुरिए । ‘आफूले दु:ख पाए पनि भाइहरूलाई पढाएर ठूलो मान्छे बनाउने सपना दैवले चुँडेर लियो,’ भावविह्वल अवस्थामा रहेकी शर्मिलाले बिलौना गर्दै भनिन्, ‘मेरा लागि छोरासरह थिए भाइहरू, हे दैव यस्तो अन्याय किन गरिस् ?’
आइतबार बिहानको पहिरोले भेरी नगरपालिका ६, गंगटियाका लालबहादुर लुहारको परिवारमा पनि बज्रपात भयो । ज्यालामजदुरी गरेर जीवन निर्वाह गर्न तीन महिनाअघि सदरमुकाम खलंगाको ठाँटीबजारस्थित तीर्थराज बोहराको घरमा डेरा सरेको थियो लालबहादुरको परिवार । उनकी छोरी ९ वर्षीया भगवती ३ कक्षा, ६ वर्षीया रञ्जना तथा चार वर्षीया मनिसा १ कक्षामा हनुमान प्राथमिक विद्यालय थाप्लेमा पढ्थे । लुहार जोडीले खलंगा बजारमा छोरीहरूलाई पढाउने तथा दैनिक ज्यालामजदुरी गरेर परिवारको गुजारा चलाउँदै आएको थियो । लालबहादुर मिस्त्री काम गर्छन् । सदरमुकाममा राखेर पढाउँदा छोरीहरूको उज्ज्वल भविष्यको सपना देख्न थालिसकेका थिए ।
‘बिहान साढे सात बजे कोठामा छोरीहरू पढै थिए । श्रीमती शीतल खाना पकाउँदै थिइन् । मजदुरी गर्न जाने हतारोले म नजिकै बसेर उनलाई सघाइरहेको थिएँ, एक्कासि ठूलो आवाज आयो,’ लालबहादुरले आइतबारको त्रासदीपूर्ण बिहान सम्झिए, ‘लगत्तै घर भत्कियो, हामी सबै भित्रै पुरियौं, त्यसपछि के भो थाहा भएन, श्रीमती र छोरीलाई देख्न सकिनँ ।’ उनलाई नेपाली सेनाले डेढ घण्टापछि उद्धार गरेको थियो । अहिले जाजरकोट अस्पतालको शय्यामा श्रीमती र छोरीको बिछोडको पीडाले छटपटाइरहेका छन् । पहिरोमा परिवारका सबै सदस्य गुमाए । ‘पहिरोले सबैलाई लग्यो, मलाई मात्र किन बचायो,’ उनले भने, ‘सबैलाई पहिरोले लगिसक्यो, ममात्र बाँचेर के गर्नु ?’
नेपाल पत्रकार महासंघ जाजरकोटका सदस्य तीर्थराज बोहरा ठाँटीबजारमा ३ कोठे घर बनाएर ३ वर्षदेखि बस्दै आएका थिए । उनकी ५ वर्षीया छोरी नजिता गोल्डेन एनपी स्कुल थाप्लेमा नर्सरीमा पढथन् । आइतबारको पहिरोले घरसहित छोरी नजितालाई पनि पुरिदियो । ‘क्षणभरमै पहिरोले छोरीलाई माटामा मिलायो,’ आमा पुष्पाले भावविहवल हुँदै भनिन्, ‘गुहार–गुहार गर्यौं, कसैले सुनेन ।’
कुशे ५, खुर्पाका प्रेमबहादुर परियार ५ वर्षदेखि ठाँटीबजारमै सिलाइकटाइ व्यवसाय गर्दै आएका छन् । उनको परिवार सोही ठाउँका प्रकाश विकको घरमा डेरा गर्छ । साढे ६ बजेतिर सबैले चिया खाए । छोरालाई ‘राम्रोसँग पढेस् बाबु’ भनेर श्रीमान्श्रीमती कपडा सिलाउन पसलतर्फ निस्किए । त्यसको १५ मिनेटमै पहिरो गएको हल्लीखल्ली भयो । दौडिएर कोठामा पुगे । तर छोरा भेटिएनन् । छोरा साथीसँग पढ्न बसेको घर नै पहिरोले पुरेपछि आत्तिए । कान्तिपुरबाट