Logo

मुख्यमन्त्रीको कार्यालय अगाडि पोखियो दूध, फुटाइयो अण्डा



काठमाडौं २२ साउन ।  किसानले प्रदेश ७ मुख्यमन्त्रीको कार्यालय अगाडि दुध पोखेका छन् । उनीहरुले आइतवार दिउँसो अण्डा फुटाए भने कुखुराका चल्ला पनि छोडेका छन । कैलालीमा भेटेरिनरी अस्पताल र पशुसेवा विज्ञ केन्द्र स्थापनाका माग राख्दै आन्दोलित किसान र व्यवसायीहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडी दूध पोखेका हुन् ।

आइतवार धनगढीमा प्रदर्शन गरेका उनीहरुले सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडिको सडकमा दूध पोखेका हुन् । त्यसक्रममा उनीहरुले अण्डा फुटाउँदै कखुराका चल्ला पनि सडकमा छाडेका छन् ।

किसानहरुले भेटेरिनरी अस्पताल र विज्ञ केन्द्र कैलालीमा हुनुपर्ने माग गर्दै विभिन्न निकायमा धाउँदा सुनुवाइ नभएपछि आन्दोलित हुनु परेको भेट्नरी तथा कृषि संयोजक दिनेश लम्सालले बताए ।

किसानको मागको विषयमा प्रदेश सरकार गम्भीर नभएको भन्दै उनीहरुले नाराबाजी समेत गरेका थिए । संघीय सरकारले तोकेका पशुविज्ञ केन्द्र कैलाली नपरेपछि उनीहरुले आइतबार आफ्ना उपकरण औजार बोकेर धनगढीमा प्रदर्शन गरेका थिए ।

संघीय सरकारले प्रदेश ७ का कञ्चनपुर, डडेल्धुरा, बाजुरा, बझाङ र बैतडीमा मात्रै पशु विज्ञ केन्द्र रहने निर्णय गरेको छ । प्रदेश ७ का ९ जिल्ला मध्ये सबै भन्दा बढी पशुपंक्षी व्यवसायमा कैलालीका ब्यवसायीले लगानी गरेकाले कैलालीमा पशु विज्ञ केन्द्र रहन्पर्ने उनीहरुको माग छ ।

कैलालीमा कुखुराको दाना उद्योग, ह्याचरी र पोल्टी फार्ममा मात्रै एक अर्ब भन्दा बढी लगानी रहेको कृषि उपज केन्द्र प्रदेश नम्बर ७ का अध्यक्ष नन्दराज भट्टले बताए ।

संघीय सरकारको मन्त्री परिषद्ले गरेको निर्णय कार्यान्वयनमा प्रदेश सरकारले ढिलाइ गरेको भेट्नरी तथा कृषि संयोजक लम्सालको भनाइ छ । आफ्ना माग पुरा नभएसम्म आन्दोलन रहने उनीहरुले बताएका छन । संघीय सरकारको मन्त्री परिषद्ले पशु अस्पतालका लागि स्थान तोक्न तीन साता अगाडि नै निर्देशन दिएको थियो । अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्