Logo

नेपाली कामदारलार्इ आफन्तले कोरियामै भेट गर्न पाउने



काठमाडौं  ।  इपिएस प्रणालीमार्फत रोजगारीका क्रममा दक्षिण कोरियामा रहेका नेपाली कामदारसँग आफ्ना परिवारका सदस्यले भेटघाट गर्न सक्ने भएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग भएको भेटमा नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क योङसिकले कोरियामा काम गर्ने नेपाली कामदारका आफन्तलाई त्यहीँ गएर भेट गर्न पाउने व्यवस्था मिलाइसकिएको बताए । उनले केही कामदारका आफन्तले भेटघाट गरेर नेपाल आइसकेको बताए ।

कोरियाले केही समयभित्रै यसको औपचारिक घोषणा गर्नेछ । त्यस अवसरमा मन्त्री विष्टले नेपाली युवाका लागि दक्षिण कोरिया आकर्षक रोजगारीको क्षेत्र रहेको उल्लेख गर्दै इपिएस प्रणालीमार्फत कोरिया लैजाने कामदारको संख्या (कोटा) थपका लागि कोरिया सरकारसँग पहल गर्न आग्रह गरे ।

नेपाली कामदारलाई त्यहाँको आवश्यकताअनुसार भाषा, सीपको विकास गर्न सरोकारवाला मन्त्रालयका बीच समन्वय गरेर जाने प्रतिबद्धता व्यक्त गर्दै उनले संघीय सरकारको मातहत रहने गरी स्थापना हुन लागेका तीनवटा प्रतिष्ठानस्तरका सीप विकास केन्द्रको पूर्वाधार निर्माणमा कोरिया सरकारको सहयोगको अपेक्षा गरे ।

मन्त्री विष्टले नेपालमा रहने कोरियन नागरिकलाई नेपाल बसाइका क्रममा कुनै पनि असुविधा हुन नदिइने प्रतिबद्धता व्यक्त गर्नुभएको मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले बताए ।

भेटका क्रममा राजदूत पार्कले नेपाली कामदार इमान्दार र मिहेनती भएकाले कामदारको संख्या थप गर्नाका साथै सेवा क्षेत्रमा समेत कामदार लैजाने प्रक्रियामा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिष्ठानस्तरका सीप विकास केन्द्रको पूर्वाधार निर्माणमा कोरिया सरकारबाट आवश्यक सहयोग हुने विश्वास व्यक्त गर्दै उनले श्रम सम्बन्ध, वैदेशिक रोजगारी र आन्तरिक रोजगारीका क्षेत्रमा मन्त्रालयले चालेका कदमको प्रशंसा गरे ।

नेपाल सरकारले दक्षिण कोरियामा रहेका नेपाली कामदारमा देखा परेका निराशा र आत्महत्याको समस्या न्यूनीकरण गर्न कामदारको आफन्तलाई भेटघाटको अवसर प्रदान गर्न आग्रह गर्दै आएको थियो । इपिएसमार्फत कोरिया गएका नेपाली कामदार चार वर्ष १० महिना नपुगी स्वदेश फर्कन पाउँदैनन् ।

इपिएसमार्फत कोरिया जाने नेपालीको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । खाडी मुलुकमा जस्तो कामदारले अनावश्यक झन्झट व्यहोर्नु नपर्ने र आकर्षक तलब सुविधाका कारण पनि कोरिया नेपाली कामदारको रोजाइमा पर्दै आएको छ । अहिले नेपाली कामदारले कोरियामा मासिक एक लाख ५० हजारदेखि दुई लाखसम्म पारिश्रमिक पाउँदै आएका छन् । सन् २००८ देखि गत जेठ मसान्तसम्म इपिएसमार्फत ५४ हजार ३६३ नेपाली कामदार दक्षिण कोरिया गएका छन् ।  अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot