काठमाडौं २२ साउन ।
नेपाली सेना र युनाइटेड स्टेट्स प्यासिफिक कमान्डको संयुक्त आयोजनामा काठमाडौंमा बहुपक्षीय सञ्चार, अन्तरसञ्चार सञ्चालनसम्बन्धी तालिम सुरु भएको छ । सेनाको युद्धकार्य महानिर्देशक प्रभुराम शर्माले सोमबार तालिमको उद्घाटन गरेका हुन् । तालिममा २० देशका सैनिक प्रतिनिधि सहभागी छन् । सेनाका अनुसार विपद्व्यवस्थापनको समयमा अन्तरसञ्चारमाध्यमलाई प्रभावकारी ढंगबाट सञ्चालन गरी सूचना प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्यले तालिम सञ्चालन गरिएको हो ।
कार्यक्रममा एसिया प्रशान्त क्षेत्र प्राकृतिक प्रकोपको दृष्टिकोणले अति नै संवेदनशील क्षेत्र भएको हुँदा सन् २००४ को सुनामीमा देखिएका कमी–कमजोरी हटाई मानवीय सहायता र उद्धार कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल हुनेछ ।
कार्यक्रम संयुक्त राज्य अमेरिकाको प्यासिफिक कमान्डले नेतृत्वमा सञ्चालन हुँदै आएको छ । नेपाल यो कार्यक्रममा ०६२ देखि सहभागी हुँदै आएको छ । नेपालले ०७१ मा पनि यो कार्यक्रम समन्वय गरेको थियो ।
कार्यक्रममा अस्ट्रेलिया, बंगलादेश, कम्बोडिया, फिजी, फ्रान्स, इन्डोनेसिया, जापान, मलेसिया, माल्दिभ्स, मंगोलिया, नेपाल, फिलिपिन्स, सिंगापुर, श्रीलंका, थाइल्यान्ड, टोंगा, भियतनाम र संयुक्त राज्य अमेरिका गरी २० राष्ट्रका करिब २ सय ७० जना सैनिक प्रतिनिधि सहभागी हुँदै छन् । सोमबार साँझसम्म १८ राष्ट्रका प्रतिनिधि आइसकेकामा पपुआ न्यु गिनी र दक्षिण कोरियाका प्रतिनिधि शुक्रबारसम्म आइपुग्नेछन् । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कार्यक्रम १ भदौसम्म सञ्चालन हुनेछ ।
नयाँपत्रिकाबाट