Logo

अघिल्लो नतिजामा सुधार गर्ने साफ यू–१५ महिला फूटबलको लक्ष्य



काठमाडौँ, २२ साउन । बंगलादेशमा गत वर्ष भएको पहिलो १५ वर्षमुनिको साफ च्याम्पियनसिप महिला फूटबलमा अपेक्षित नतिजा निकाल्न नसकेको नेपाली किशोरी टोलीले यसपटक राम्रो नतिजा ल्याउने आशा गरिएको छ ।

करीब दुई महिनायता बन्द प्रशिक्षणमा रहेको नेपाली टोलीको मुख्य लक्ष्य साफ च्याम्पियनसिपको फाइनलमा पुग्नु हो । भुटानको थिम्पुमा यही साउन २४ देखि भदौ २ गतेसम्म हुने प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा अघिल्लो विजेता बंगलादेश र पाकिस्तान छन् । प्रतियोगिताको यो दोस्रो संस्करण हो । समूह ‘ए’ मा भारत, भुटान, अफगानिस्तान र श्रीलंका छन् । माल्दिभ्सले प्रतियोगितामा सहभागिता जनाएको छैन ।

बंगलादेशमा भएको पहिलो संस्करणमा भने नेपाली टोलीले सन्तोषजनक प्रदर्शन गर्न सकेका थिएनन् । त्यतिबेला नेपालले कुनै पनि खेलमा जीत हासिल गर्न सकेन नेपाल आयोजक बंगलादेशसँग ६–० गोलअन्तर, भारतसँग १०–० फराकिलो गोलअन्तर र भुटानसँग १–१ गोलको बराबरीमा खेलेको थियो ।

नेपाली टोलीको मुख्य प्रशिक्षक गङ्गा गुरुङ केही नयाँ खेलाडीको आगमन र टोलीमा आएको सुधारले राम्रो प्रदर्शन गर्नेमा आशावादी छिन् । खेलाडीमा मनोबल उच्च रहेको र पछिल्लो समय नियमित प्रशिक्षण भइरहेकाले प्रतियोगितामा उपाधि जित्ने उनको दाबी छ ।

कप्तानको जिम्मेवारी पाएकी प्रीति राईले विगतका कमजोरी सुधार्ने गरी प्रतियोगितामा सहभागी हुन लागेको बताउँदै खेलाडीले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेकि छिन ।अखिल नेपाल फूटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले महिला टोलीले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने बताए।

तीन महिनादेखि राम्रो तयारीमा रहेकाले यो वर्ष किशोरी खेलाडीले राम्रो नजिता निकाल्नेमा आफू विश्वस्त रहको उनको भनाइ छ ।नेपाली टोलीको मुख्य प्रशिक्षकमा गुरुङ, प्रशिक्षकमा श्याम मानन्धर र गोलकिपर प्रशिक्षक विनोद महर्जन टोलीमा सामेल छन् । च्याम्पियनसिप खेलाउन दुई नेपाली रेफ्री, फिफा रेफ्री अस्मिता मानन्धर र फिफा सहायक रेफ्री बिना श्रेष्ठ पनि नेपाली टोलीसँगै भुटान जाँदैछन् ।

नेपालले पहिलो खेल यही साउन २६ गते पाकिस्तानसँग खेल्नेछ भने बंगलादेशसँग २८ गते प्रतिस्पर्धा गर्नेछ । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।नेपाली टोलीमा गोलकिपर सावित्री किसान, पूजा थापा, करिना धिमाल, डिफेन्डर खुस्मा राई, पुष्पा गुरुङ, सुरक्षा सिंह, सरिष्मा थामामगर, सलोनी रानामगर, सरिता न्यौपाने, सविना चौधरी र मनमाया परियार छन् ।

मिडफिल्डरमा प्रीति राई, सुष्मा तामाङ, रिया बानु, मनिषा विष्ट, सविता राना मगर, पुनम घिमिरे, अस्मिता चौधरी, सरस्वती हमाल र फरवार्डमा रजनी थोकर, निकिता थोकर, चन्द्रा भण्डारी र अनुष्का शेर्पा छन् ।

नेपाली टोलीको बिदाइ

प्रतियोगितामा सहभागी हुन जाने टोलीलाई बिदाइ गरिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित कार्यक्रममा टोलीलाई युवा तथा खेलकूद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा तथा एन्फा पदाधिकारीले बिदाइ गरेका छन। टोली
आज मंगलबार भुटान प्रस्थान गर्नेछ ।

सो अवसरमा सचिव सापकोटाले खेलाडीलाई खेलेरै बाँच्ने अवसरको सिर्जना गर्न मन्त्रालय र राष्ट्रिय खेलकूद परिषद् लागिपरेको बताउँदै जीविकोपार्जनका लागि खेलाडी अन्यत्र भौँतारिनु नपर्ने अवस्थाको अन्त्य गरिने जानकारी गराएका छन। रासस



प्रतिक्रिया दिनुहोस्