Logo

अमेरिकी हवाई आक्रमणमा नौ जना अफगानी प्रहरी मारिए



काठमाडौँ, २२ साउन । पूर्वी अफगानिस्तानमा तालिबानसँग भएको सङ्घर्षका क्रममा अमेरिकी हवाई बम हमलामा कम्तीमा नौ जना प्रहरी मारिएका छन् । अफगानिस्तानमा तैनाथ नेटो कमान्डले उक्त घटनाको छानबिन सुरु गरेको जनाएको छ ।

अफगानी अधिकारीहरुले उक्त घटनाको पुष्टी गरेका छन् । अफगान गृह मन्त्रालयका प्रवक्ता नसरत राहिमीले लोगार प्रान्तको आज्रा जिल्लामा अमेरिकी सेनाले गरेको हवाई हमलामा नौ जना प्रहरी मारिएको र १४ जना घाइते भएको जानकारी गराएका छन ।

तालिबानी लडाकूसँग गएराति भएको भिषण युद्धका क्रममा प्रहरीले “हवाई सहायता माग गरेको तर दुर्भाग्यवस अमेरिकी सेनाले भूलवस अफगान सुरक्षाकर्मीमाथि बम हमला गरेको छ”, राहिमीले भनेका छन।उनले तालिबानले पनि ठूलो नोक्सानी व्यहोरेको बताएका छन।

तर प्रान्तीय परिषद्का प्रमुख हमिदुल्लाह हमिदले करिब १५ जना प्रहरी मारिएको जानकारी दिँदै भनेका छन, “विदेशी सेनाले गरेको हवाई बम हमलामा प्रहरीका दुईवटा चेकपोष्ट ध्वस्त भएका छन् ।”

नेटोका लेफ्टीनेन्ट कर्णेल मार्टीन ओ–डोन्नेलले भने, “हामी यस विषयमा गम्भीरताका साथ अनुसन्धान गरिरहेका छौं ।”अफगानिस्तानमा हवाई बम हमला प्रायःजसो अमेरिकी सैनिकबाट हुने गरेको छ । अफगान हवाई सैनिकले पनि छिटपुट यस्तो हमला गर्ने गर्दछ ।

अफगानिस्तानमा करिब १४,००० अमेरिकी सैनिक तैनाथ छन् । नेटो अन्तर्गतको यो सैनिक समूहले अफगानी सेना र प्रहरीलाई सहयोग गर्नुका साथै तालिम प्रदान गर्दछ ।केही अमेरिकी सैनिकहरु प्रतिआतङ्ककारी अपरेशनमा आबद्ध छन् । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot