Logo

‘सामूहिक भावनालाई सर्वोपरी बनाएर काम गर्छौ’



काठमाडौँ, २२ साउन / राष्ट्रियसभा मातहतका चार वटै विषयगत समिति “मिनी पार्लियामेन्ट”का सदस्यले सामूहिक भावनालाई सर्वोपरी मान्दै आफ्ना कामकारवाही अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

राष्ट्रियसभा अन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समिति, विधायन व्यवस्थापन समिति, प्रत्यायोजन व्यवस्थापन तथा सरकारी आश्वासन समिति र दिगो विकास तथा सुशासन समितिका सदस्यले त्यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

आदेखि शुरु भएको वैठकमा भाग लिने अधिकाँश सदस्यहरुले समितिको बैठक पक्ष/विपक्ष भएर होइन, एउटै भएर काम गर्ने भावनाका साथ काम गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

परिवर्तनकारी शक्ति नै सदनमा भएकाले नेकपा, नेपाली काङ्ग्रेस्, मधेशवादीभन्दा पनि देश र जनताको हितका खातिर ‘सामुहिक भावना’का आधारमा काम गर्नुपर्छ भन्ने उहाँहरुको धारणा थियो ।

संविधान कार्यान्वयनका लागि ऐन बनाउने सन्दर्भमा विधेयक निर्माणमा समितिबाट ढिलाई भयो भन्ने आवाज आउन नदिन सिद्धान्त फरक बोकेपनि एउटै पार्टी भएर काम गर्ने सदस्यहरुले प्रतिबद्धता जनाउनुभयो ।

सबै समितिले आगामी बैठक सञ्चालनका लागि कार्यविधि छिटो तयार गर्ने निर्णय गरेका छन् । जिम्मेवार र जुझारु ढंगबाट काम भइरहेको छ भन्ने सकारात्मक सन्देश प्रवाह गर्न पूर्वनिधारित ठिक समयमै बैठक शुरु गर्ने पनि समितिले निर्णय लिएका छन् ।

निर्धारित समयभन्दा १५ मिनेट कुर्दा पनि बैठक सञ्चालनका लागि आवश्यक न्यूनतम सदस्य संख्या नपुगेमा उक्त बैठक रद्द गरी अर्काे बैठक बोलाउने व्यवस्था गर्न लागिएको छ ।

ज्येष्ठ सदस्यका आधारमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको अध्यक्षता तारादेवी भट्ट, विधायन व्यवस्थापन समितिको अध्यक्षता हरिचरण सिवाकोटी, प्रत्यायोजन व्यवस्थापन तथा सरकारी आश्वासन समितिको अध्यक्षता राधेश्याम अधिकारी र दिगो विकास तथा सुशासन समितिको अध्यक्षता दीनानाथ शर्माले गर्नुभएको थियो ।

यसैबीच दिगो विकास तथा सुशासन समितिले सुशासन सम्बन्धमा उठेका प्रश्नका बारेमा गृहमन्त्री र दिगो विकासका सम्बन्धी विषयमा अर्थमन्त्रीलाई आगामी बैठकमा बोलाएर जानकारी लिने निर्णय गरेको छ । (रासस)



प्रतिक्रिया दिनुहोस्