Logo

उपभोग्य बस्तुमा विषादी प्रयोग गरे ५ वर्ष कैद



काठमाडौं २३ साउन । विषादी प्रयोग गरेर उपभोग्य वस्तु उत्पादन र बिक्री गर्नेलाई अब ५ वर्षसम्म कैद हुने भएको छ । सरकारले मंगलबार संसदमा दर्ता गराएको उपभोक्ता हक संरक्षण सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयकमा उपभोक्ताको स्वास्थ्यमा हानि पुर्‍याउनेलाई कारबाही व्यवस्था गरिएको हो ।

संविधानको मौलिक हक अन्तर्गत रहेको ‘उपभोक्ताको हक’ कार्यान्वयनका लागि ल्याउन लागिएको विधेयकमा तोकिएको गुणस्तरभन्दा घटी वा बढी भएको कुनै वस्तु र सेवा उपभोग गरेर उपभोक्तालाई नोक्सानी भएमा कसुर गरेको मानिने उल्लेख छ ।

उपभोग्य वस्तुको मात्र नभई विद्युत, खानेपानी, टेलिफोन, सूचना प्रविधि, स्वास्थ्य, यातायात, ढल निकास, बैंकिङ, वकालत, चिकित्सा, इन्जिनियरिङ सेवासमेत यो विधेयकमा समेटिएको छ । यस्ता कुनै पनि संस्थाले प्रदान गर्ने सेवाको मूल्य, गुणस्तर, सेवा उपलब्ध गराउने स्थान र समय उल्लेख नगरी सेवा प्रदान गरेमा बढीमा ५ वर्ष जेल र ६ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । –कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्