Logo

धनीहरूनै गरिबको सूचीमा, राजधानीमा घर भएका वडा सदस्य पनि अति गरिब



काठमाडौं २३ साउन ।  जिल्लाका धनीहरूलाई नै सरकारले गरिबको सूचीमा राखेको छ । सबै स्थानीय तह (तीन नगरपालिका र तीन गाउँपालिका) ले नामावली नसच्चिएसम्म परिचयपत्र नबाँड्ने बताएका छन् । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट आएको नामावलीअनुसार सबैलाई परिचयपत्र वितरण गर्न नसकिने उनीहरूको भनाइ छ ।

मन्त्रालयले विभिन्न १८ सूचकलाई आधार मानेर ०६९ सालमा गरिबको विवरण संकलन गरेको थियो । मन्त्रालयको तथ्यांकअनुसार जिल्लामा कुल २५ हजार ६३४ घरपरिवारमध्ये ५ हजार ८ सय ३९ घरपरिवार गरिबीको रेखामुनि छन् । जसमा २ हजार ८ सय ५९ परिवार अति गरिब, १ हजार ७ सय ५९ मध्यम गरिब र १ हजार २ सय २१ परिवार सामान्य गरिब छन् ।

राजधानीमा घर भएका वडा सदस्य पनि अति गरिब

सदरमुकामसमेत रहेको मुसीकोट नगरपालिका–४ का वडा सदस्य जगतबहादुर खड्का पनि अति गरिबको सूचीमा परेका छन् । उनले मन्त्रालयबाट सूची आएपछि आफूले थाहा पाएको र गरिबको परिचयपत्र नलिने बताए । जिल्लामा उनी सम्पन्न परिवारमा गनिन्छन् । उनको काठमाडौंमा समेत घर छ । मुसीकोट–४ सोलावाङमा पनि तीनतले ढुंगे घरसहित करोडौँको जमिन छ ।

मन्त्रालयले पठाएको नामावलीअनुसार सबैलाई परिचयपत्र दिन नसकिने मेयर देवीलाल गौतमले बताए । ‘कि मन्त्रालय नै आएर साँच्चिकैका गरिबको पहिचान गरोस्,’ उनले भने, ‘नभए हामीलाई जिम्मा देओस्, हामी दूधको दूध पानीको पानी छुट्याउँछौँ ।’ नगरपालिकामा २१ दशमलव ७० प्रतिशत घरपरिवार गरिब रहेको मन्त्रालयको तथ्यांक छ । नयाँपत्रिकाबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot