Logo

पोखरा विश्वविद्यालय सम्बद्ध कलेजहरु न्यूनतम मापदण्डविपरित सञ्चालित भएको आरोप (विज्ञप्तीसहित)



काठमाडौ, २३ साउन । नेपाल विद्यार्थी संघ पोखरा विश्वविद्यालय केन्द्रिय समन्वय समितिले पोखरा विश्वविद्यालय अन्तर्गत संचालनमा रहेका अधिकांश क्याम्पसहरु विश्वविद्यालय र सम्बन्धित काउन्सिलले तोकेको मापदण्ड पुरा नगरि सञ्चालनमा रहेको आरोप लगाएको छ।

बुधबार रिपोर्टर्स क्लब नेपालमा ‘विश्वविद्यालय सुधार अभियान’ विषयमा पत्रकार सम्मेलन गर्दै समितिका पदाधिकारीहरुले यस्तो आरोप लगाएका हुन् । शिक्षाजस्तो पवित्र क्षेत्रमा मापदण्ड पुरा नगरी एकोहोरो नाफामात्र उद्देश्य राखी क्याम्पसहरु सञ्चालन गरेको भन्दै शिक्षामा व्यापारीकरण भएको उनीहरुको आरोप छ ।

कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघ केन्द्रिय सदस्य तथा पोखरा विश्वविद्यालय केन्द्रिय समन्वय समिति संयोजक नवराज त्रिपाठीले विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरुले न्यूनतम मापदण्ड पनि पुरा नगरि सञ्चालन गरेको दाबी गरे ।

उनले भने,‘लगभग ५८ ओटा पोखरा विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कलेजहरु लगायत यसको आंगिक कलेजले आवश्यक न्यूनतम मापदण्ड पनि पुरा गरेका छैनन् । शिक्षक, जमिन, ल्याब लगायतका अन्य बिषयहरुमा हामीले अनुसन्धान गर्यौैँ, तर एउटापनि कलेजहरुले नियमको पालना गरेको पाएनौँ ।’

त्रिपाठीले अघि थपे,‘एउटै विश्वविद्यालयको क्याम्पसमा भर्ना हुन समेत फरक मापदण्ड छ । यसले विश्वविद्यालयको परिभाषानै मिचेको छ । विश्वविद्यालय भनेको ज्ञानलाई उब्जाउ गर्ने ठाँउ हो । तर अहिले यसलाई पैसा कमाउने भाँडो बनाएका छन् । यो दुःखद् पक्ष हो।’

त्यसैगरि कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघ केन्द्रिय सदस्य तथा पोखरा विश्वविद्यालय केन्द्रिय समन्वय समिति उप–संयोजक सुदर्शन कुमार पौडेलले अहिलेको शिक्षा नितीमा अन्यौलता भएको बताए । उनले भने,‘क्याम्पसहरुले विद्यमान नियम पालना नगरि सञ्चालन गर्नाले कस्तो र कुन स्तरको जनशक्ति उत्पादन होला ? तसर्थ शैक्षिक क्षेत्रमा व्याप्त समस्याहरुको निराकरणको लागि ध्यान दिनुपर्छ ।’

विश्वविद्यालयको यस्तो लापरबाहीलाई मध्येनजर गर्दै अनुसन्धानको आधारमा समितीले रिपोर्ट तयार पारेको बताउँदै समितिले एकद्धार प्रवेश परिक्षाको व्यवस्थाको पनि माग गरेको छ । त्यस्तै विद्यार्थीको अनुसन्धनात्मक, प्राज्ञिक र अन्वेषणात्मक कामको लागि रिसर्च तथा डेभलपमेन्ट फण्डको पनि उनीहरुले माग गरेका छन् ।

त्यसैगरि उनीहरुले विद्यार्थीको जायज मागहरु सम्बोधन गर्न क्याम्पसमा स्ववियू निर्वाचन गनुपर्ने तथा विद्यार्थीको सुविधाको लागि काठमाडौ, बुटवल, चितवन र दाङमा विश्वविद्यालयको सम्र्पक कार्यालय स्थापना गर्न समेत माग राखेका छन् र यसको लागि आन्दोलनका कार्यक्रमहरु तय गरेका छन् ।

उनीहरुले अघि सारेका कार्यक्रम अन्र्तगत यही साउन २४ गते विश्वविद्यालयका सबै क्याम्पसहरुमा ज्ञापनपत्र बुझाउने, २६ गतेबाट धर्ना लगायतका बिरोध कार्यक्रम र हरेक क्याम्पस प्राङगणमा क्याम्पसको अनियमित कार्यहरुको भण्डाफोर गर्ने रहेको छ ।

समितिले जारी गरेको प्रेस विज्ञप्तिको पूर्णपाठ
आदरणीय पत्रकार मित्रहरु,

स्थापनाकालदेखि नै नेपाल विद्यार्थी संघ शैक्षिक क्षेत्रमा व्यापक सुधार तथा आधुनिकिकरण साथै देशमा सुदृढ लोकतान्त्रिक व्यवस्थाको निम्ति बुलन्द आवाज उठाउँदै आएको सर्वविदितै छ । भविष्यमा देशको शैक्षिक क्षेत्रबाट उत्पादित अब्बल जनशक्तिले नै देशको समृद्धिको बाटो तय गर्ने भएकाले, देशमा रहेका शैक्षिक क्षेत्रमा व्याप्त समस्याहरुको निरकरणका निम्ति जस्तोसुकै कदम उठाउनु ने.वि. संघको दायित्व हो ।
शिक्षाजस्तो पवित्र क्षेत्रमा विश्वविद्यालय, सम्बन्धित काउन्सिल लगायतको नियम, मापदण्ड पालना नगरी एकोहोरो मुनाफा मात्र उद्देश्य राखी क्याम्पसहरु संचालन हुनु आफैमा दुर्भाग्यपूर्ण र लज्जास्पद कार्य हो ।

नेपाल विद्यार्थी संघ पोखरा विश्वविद्यालय केन्द्रिय समन्वय समितिले आफ्नो अनुसन्धनात्मक कामहरुबाट प्राप्त प्रमाणलाई आत्मसाथ गर्दै पोखरा विश्वविद्यालयको आङ्गिक तथा सम्बन्धन प्राप्त सम्पूर्ण कलेजहरु मापदण्ड अनुरुप सञ्चालन हुनुपर्ने ठहर गरेको छ । एउटै विश्वविद्यालयका क्याम्पसमा भर्ना हुन समेत फरक मापदण्ड कायम हुनुले विश्वविद्यालयको परिभाषालाई नै मिचेको हाम्रो ठहर छ । अतः समग्र विद्यार्थीको अधिकार रक्षार्थ र गुणस्तरीय शिक्षा कायम गर्न ने.वि.संघ पोखरा विश्वविद्यालय केन्द्रिय समन्वय समितिले पोखरा विश्वविद्यालयका सम्पूर्ण आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा निम्न मागहरु राखेको छ ।

१.एकद्धार प्रवेश परिक्षा :

विश्वविद्यालयका क्याम्पस र टे«निङ्ग इन्स्टिच्युट बिचमा भिन्नता रहनु पर्छ । हाल पोखरा विश्वविद्यालयका सम्बन्धन प्राप्त क्याम्पसहरुमा भर्ना हुन उक्त क्याम्पसमा छुट्टै प्रवेश परिक्षा लिने, प्रवेश परिक्षा शुल्क जथाभावी लिने व्यवस्था छ । एउटै विश्वविद्यालयको क्याम्पसमा अध्ययन गर्न फरक–फरक मापदण्डको प्रवेश परिक्षा दिनुपर्ने, क्याम्पसै पिच्छे दस्तुर तिरी प्रवेश

परिक्षा दिनुपर्ने प्रणाली विश्वविद्यालयको परिभाषा भित्र नपर्ने ने.वि.संघको ठहर छ । अतः संकाय अनुसारको एकरुपता कायम गर्न, गुणस्तर बढाउन र मेरिट प्रणालीलाई स्थापित गर्न पोखरा विश्वविद्यालयका आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरुको लागि विश्वविद्यालयले एकै पटक प्रवेश परिक्षा संचालन गर्नुपर्ने ।

२.पोखरा विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुले विश्वविद्यालय र सम्बन्धित काउन्सिलको मापदण्ड पुरा गर्नुपर्ने ।

पोखरा विश्वविद्यालय अन्तर्गत संचालनमा रहेका अधिकांश क्याम्पसहरु विश्वविद्यालय र सम्बन्धित काउन्सिलले तोकेको मापदण्ड पुरा नगरि सञ्चालनमा रहेका छन् । क्याम्पस संचालन पूर्व विश्वविद्यालय र सम्बन्धित काउन्सिलले तोकेको न्यूनतम मापदण्ड समेत पुरा नगर्नु दण्डनीय कार्य हो । कागजमा मापदण्ड पुरा गर्ने तर व्यवहारमा पुरा नगर्ने, सम्बन्धित निकायले अनुगमनलाई देखावटी कामको रुपमा मात्र लिने प्रवृत्तिले विश्वविद्यालयको समग्र शैक्षिक गुणस्तरमा असर परेको हाम्रो ठहर छ । अतः सबै क्याम्पसहरुलाई तुरुन्त आफ्नो न्यूनतम मापदण्ड पुरा गर्न ने.वि. संघ जोडदार माग गर्दछ ।

३.रिसर्च एण्ड डेभलपमेन्ट फण्ड :

विश्वविद्यालय भनेको शिक्षा उत्पादन गर्ने थलो हो तर नेपालमा आयातित शिक्षालाई मात्र प्राथमिकता दिँदै आइएको छ । विद्यार्थीको अनुसन्धानमूलक, प्राज्ञिक र अन्वेषणमुलक काममा सहयोग पु¥याएमा दक्ष जनशक्तिको उत्पादनमा ठोस सहयोग पुग्ने हाम्रो ठहर छ । अतः पोखरा विश्वविद्यालय आंगिक क्याम्पसले आफ्नो कुल बजेटको ५% र सम्बन्धन प्राप्त क्याम्पसहरुले आफ्नो वार्षिक कुल आयको ५% रकम “रिसर्च एण्ड डेभलपमेन्ट युनिट” स्थापना गरि विनियोजन गर्नुपर्ने ।

४.विश्वविद्यालयका सम्पूर्ण सम्बन्धन प्राप्त क्याम्पसमा स्व.वि.यु. निर्वाचन गरिनुपर्ने ।

विद्यार्थीको जायज मागहरु सम्बोधन गराउन अतिरिक्त क्रियाकलाप गर्न, व्यवस्थापन र विद्यार्थी बीच सम्बन्ध सेतु कायम गर्न सिर्जनात्मक प्रयोगको लागि तत्काल स्व.वि.यु. निर्वाचनको प्रकृया आरम्भ गरि निर्वाचन सम्पन्न गर्नुपर्ने ।

५.सम्पर्क कार्यालय स्थापना :

पोखरा विश्वविद्यालय अन्तर्गत देशका विभिन्न स्थानमा क्याम्पसहरु संचालनमा रहेको अवस्थामा विश्वविद्यालयले काठमाण्डौमा रहेको सम्पर्क कार्यालय समेत हालै बन्द गरेकोले विद्यार्थीलाई पर्न गएको असुविधा प्रति ने.वि. संघको गम्भिर ध्यानाकर्षण भएको छ । अधिकांश क्याम्पस कास्की भन्दा बाहिरी जिल्लामा संचालनमा रहेकोले काठमाण्डौ, बुटवल, चितवन, दाङ्गमा विश्वविद्यालयको सम्पर्क कार्यालय स्थापना गर्न जोडदार माग गर्दछ ।

जय नेपाल !

नवराज त्रिपाठी
केन्द्रिय सदस्य
तथा
संयोजक
पोखरा विश्वविद्यालय केन्द्रिय समन्वय समिति



प्रतिक्रिया दिनुहोस्

Screenshot