Logo

पीडित परिवारलाई केन्द्र सरकारको सहयोग



जाजरकोट, २३ साउन । जाजरकोटमा आइतबार बिहान भेरी नगरपालिका–३ ठाँटीबजारमा गएको पहिरोमा परी ज्यान गुमाएका पीडित परिवारलाई सरकारले रु एक लाखका दरले राहत सहयोग गरेको छ ।

पहिरोले पुरिँदा मृत्यु भएका सात बालबालिकासहित आठ जनाका पीडित परिवारलाई वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले पीडितलाई कुनै कुराको पनि अभाव हुन नदिनु भन्ने निर्देशनसहित तत्कालका उक्त रकम उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी गराएका छन ।

पीडित परिवारका लागि प्राप्त रकम उनीहरुले आश्रय लिएर बसिरहेको ठाँटीबजारस्थित वृद्धाश्रममै पुगेर हस्तान्तरण गरेको उनले बताए। यस्तै सरकारको तर्फबाट प्रजिअ बस्नेतले पहिरोले घर पुरेर विस्थापित भएका पत्रकार तीर्थ बोहरा र गोपाल सुनारलाई रु १० हजारका दरले नगद हस्तान्तरण गरेका छन ।

यसैगरी पत्रकार महासंघ जाजरकोट शाखाले रु १० हजार, पत्रकार जनक केसीले रु पाँच हजार रकमसमेत पीडितलाई उपलब्ध गराएको छ ।

पहिरोमा परी भेरी नगरपालिका–६ गंगटियाकी २५ वर्षीया शीतला लुहार र उनका तीन छोरी भगवती, रञ्जना र मनिषा, पत्रकार तीर्थ बोहराकी आठ वर्षीया छोरी नज्मा बोहरा, कुसे गाउँपालिका–५ का १३ वर्षीय नरेन्द्र परियार, सोही गाउँपालिका–६ भार्माका ११ वर्षीय नवीन परियार र नलगाड नगरपालिका–३ करुवाका आठ वर्षीय दशरथ परियारको मृत्यु भएको थियो भने दशरथकै दाजु १३ वर्षीय गोविन्द परियार पहिरोमा पुरिएर बेपत्ता भएका छन् ।

बेपताको खोजी कार्य भइरहेको भए पनि अहिलेसम्म फेला पर्न सकेको छैन । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot