Logo

समाजसेवी वैद्यबाट सरस्वतीको मूर्ति हस्तान्तरण



काठमाडौँ, २४ साउन । एक ख्यातिप्राप्त समाजसेवीका तर्फबाट पूर्वाञ्चल विश्वविद्यालयलाई आज यहाँ सरस्वतीको मूर्ति हस्तान्तरण गरिएको छ ।

समाजसेवी जगदीश वैद्य र राष्ट्रिय समाचार समिति राससका महाप्रबन्धक ओपेन्द्र शर्माले संयुक्त रुपमा आज सो विश्वविद्यालयका उपकुलपति प्रा डा घनश्यामलाल दासलाई सरस्वतीको मूर्ति हस्तान्तरण गरेका छन । भारतको भोपालमा निर्मित उच्चस्तरको सिंहमर्मरबाट बनेको सो मूर्ति करीब ५५५ किलोको छ । उक्त मूर्ति रु पाँच लाख ५० हजार लागतमा निर्माण गरिएको विशिष्ट राष्ट्रिय समाजसेवी वैद्यले जानकारी गराए।

ललितपुर महानगरपालिका–१५ ताल्छिखेल निवासी उनले नेपाल संस्कृत विश्वविद्यालय दाङ र नेपाल प्रज्ञा–प्रतिष्ठान काठमाडौँमा सरस्वतीको मूर्ति र अधिकारी बन्धुको कुलदेवताको मन्दिर लमजुङमा बिन्ध्यवासिनीको मूर्ति हस्तान्तरण गरिसकेका छन । सरस्वतीका थप १०० मूर्ति हस्तान्तरणका क्रममा रहेको उनको भनाइ छ । ती मूर्ति विश्वविद्यालय तथा कलेजलाई हस्तान्तरण गरिने उनले जानकारी दिएका छन ।

समाजसेवी वैद्यले प्राकृतिक प्रकोपबाट पीडित तथा प्रभावित, असहाय, अपाङ्गता भएकमा र पिछडिएका समुदायका व्यक्तिलाई पनि नगद, खाद्यान्न, लत्ताकपडालगायत सहयोग गर्दै आएका छन । विसं २०३५ को हरिबोधनी एकादशीदेखि वाग्मती सफाइमार्फत समाजसेवा शुरु गरेका वैद्यले विभिन्न सङ्घसंस्थालाई पनि सहयोग गर्दै आईरहेका छन । उनले ११ वृद्धाश्रम, १३ बालआश्रम र ७३ वेदविद्याश्रमलाई खाद्यान्न तथा लत्ताकपडासमेत उपलब्ध गराईसकेका छन ।

सरकारले २०५० सालको दैवीप्रकोपमा उद्धार तथा राहत सहयोग गर्दा तत्कालीन सरकारको कोषमा कूल राहतको ६० प्रतिशत राहत योगदान गरेका उनलाई विशिष्ट श्रेणीको राष्ट्रिय समाजसेवीको उपाधि प्रदान गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्