Logo

गुल्मीको वामीमा सालिमे दह तपोभुमि पूजाआजा



कौरव खत्रीः गुल्मी २४ साउन । गुल्मीको वामीमा रहेको सालिमे दहमा सालिमे धार्मिक तथा पर्यटकीय विकास समिति मुसिकोट नगरपालिकाको आयोजनामा धार्मिक तथा पर्यटकीय क्षेत्र सालिमे दहमा बुधवार भव्य रुपमा भण्डारासँगै पुजा आरधना गरिएको छ ।

सोही अवसरमा बोल्दै मुसिकोट नगरपालिका वडा नं. ८ का वडाअध्यक्ष नारायण सापकोटाले सालिमे दह यस मुसिकोट नगरपालिकाको पर्यटन क्षेत्रको मुटु भएको भन्दै यसको दिगो विकासका लागि आफू लागि परेको बताए ।

साथै वडाअध्यक्ष सापकोटाले देवघाट, दिब्रुङ्ग रुद्रवेणी,रामकोटको उद्गम स्थल सालिमे तपोभुमि रहेको बताउदै सालिमे दह धार्मिक तथा पर्यटकीय क्षेत्रको हिसावले मात्र नभइ साँस्कृतिक जैविक तथा प्राकृतिक विविधताले समेत भरिपूर्ण रहेको यसको व्यापक प्रचार प्रसार गदै दिगो रुपमा विकास गर्न नगरपालिकाले २० लाख बजेट विनियोजन गरेको बताए ।

सालिमे धार्मिक तथा पर्यटकीय विकास समिति मुसिकोट नगरपालिकाका कोषाध्यक्ष ज्ञानहरि सापकोटाले भने सालिमे धार्मिक तथा पर्यटकीय क्षेत्रको हिसावले प्रचुर सम्भावना बोकेको सालिमे दहलाई उचित प्रचार प्रसार गर्न सके मात्र आन्तरिक तथा बाह्य पर्यटकहरुको आउने संख्यामा वृद्धि हुने बताए ।

साथै सोही अवसरमा सालिमे तपोवनमा गुरु स्वामी भाष्कारानन्द सरस्वति ज्यूले सालिमे दहको बारेमा बयान गरेर नसकिने भन्दै धार्मिक तथा पर्यटकीय क्षेत्र सालिमे दहमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरु यहाँको मनोरम वातावरणको अवलोकन गर्दा मनमा शान्ती शितलता प्रदान हुने हुदा यसलाई चिनाउन सञ्चारमाध्यमले विशेष भूमिका खेलिदिन आग्रह गरे ।

मुसिकोट नगरपालिका वडा नं. ८ मा रहेको सालिमे दहसालिमे दह समुन्द्री सतहबाट २२ सय मिटरको उचाईमा तथा जिल्लाको सदरमुकाम तम्घासदेखि वामी पुरानो गाँउसम्मको ४८ किमि मोटरवाटो र पुरानोगाँउदेखि सालिमे दहसम्म झण्डै ७ किमि पैदल मार्ग भएर जान सकिने सालिमे धार्मिक तथा पर्यटकीय विकास समिति मुसिकोट नगरपालिकाका सदस्य तथा प्रचार प्रसार विभाग प्रमुख उज्वल खत्रीले बताए ।

साथै सालिमे तपोभुमिमा हरेक वर्ष यसै समयमा भण्डारा कार्यक्रममा गुल्मीको मुसिकोट नगरपालिका तथा चन्द्रकोट गाँउपालिका र छिमेकी जिल्ला बाग्लुङ्गबाट समेत गरि झण्डै आधा दर्जन भन्दा वढि क्षेत्रका वडाबासी सयौँ शद्धालु भक्क्तजनहरुको सहभागिता रहेको थियो ।

तत्कालिन स्व.गुरु छविलाल लामिछाने प्रकाशानन्द ज्यूको ४६ औ पूण्यतिथिको अवसरमा भण्डारा तथा धार्मिक मेलामा भजनकिर्तन समेतको आयोजना गरिएको हो ।

सालिमे दहसम्म जानको लागि १ मिटरको चौडाई मार्ग पैदल मार्ग निर्माण गरिएको छ भने सालिमे दहमा ताराखसेको प्रत्यक्ष अवलोकन,यहाँको प्राकृतिक तथा जैविक विविधताको दृश्यहरुको अवलोकन, अर्गानिक बस्तुका परिकार,भक्तिभजनयस क्षेत्रका प्रमुख आर्कषण रहेका छन् ।

मेलामा आउने शद्धालु भक्क्तजनहरुले भण्डारा मेलामा आउने शद्धालु भक्क्तजनहरुले चामल, दाल, घ्यू, नून, चिनी, तेल लगायत फलफूल आदि लिएर भण्डारा कार्यक्रममा जाने प्रचलन रहेको छ ।

सालिमे दहमा पाइने स्वच्छ सफा हावापानी,जैविक,भौगोलिक र साँस्कृतिक विविधता र विकासको सम्भावना बोकेको विशाल प्राकृतिक ढुकुटी भएको हुदा यसको प्रर्वद्धन एवं विकास गरेर धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा सालिमे दहलाई नगरपालिका र जिल्लामा मात्र नभएर राष्ट्रिय स्तरमा चिनाउन मुसिकोट नगरपालिकाले सक्रियताका र सहयोग गदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot