Logo

इन्डोनेशियाः भूकम्पमा परी मृत्यु हुनेहरूको सङ्ख्या २५९ पुग्यो



काठामाडौँ,२४ साउन । आइतवार इन्डोनेशियाको लोम्बोक द्वीपमा गएको ६।९ म्याग्निट्युडको भूकम्पमा परी मृत्यु हुनेहरूको सङ्ख्या २५९ पुगेको अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार सो सङ्ख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ ।

सो शक्तिशाली भूकम्पपछि ३५० भन्दा बढी परकम्प गइसकेका छन्। बिहीवार सबैभन्दा नराम्रो परकम्प रेकर्ड भयो।पछिल्लो ठूलो परकम्प ५।९ वा ६।२ म्याग्निट्युडको भएको भूकम्पमापक यन्त्रले सङ्केत गरेका छन्।

बिहीवार केही भवनहरू भत्किएका छन्।उद्धारकर्मीहरू अझै पनि आइतवार क्षतिग्रस्त भएका भवनहरूको भग्नावशेषमा कोही जीवितै छन् कि भनेर खोज्दैछन्। पुरिएका पीडितहरू भेटिँदै जाँदा मृतकहरूको सङ्ख्या पनि बढ्ने अधिकारीहरू बताउँछन्।

इन्डोनेशियाका सुरक्षामन्त्रीले यसअघि ३१९ जनाको मृत्यु भएको बताएका थिए भने स्थानीय सञ्चारमाध्यमहरूले मृतकको सङ्ख्या ३४७ पुगेको उल्लेख गरेका थिए। तर राष्ट्रिय विपद् निकायका प्रवक्ताले बीबीसीलाई बताएअनुसार २५९ जनाको मात्रै मृत्यु भएको पुष्टि भएको छ।

रेडक्रसका अनुसार आइतवारको भूकम्प ुएकदमै विनाशकारीु थियो।लोम्बोकस्थित रेडक्रसका एक अधिकारी क्रिस्टोफर रसीका अनुसार केही गाउँहरू पूरै ध्वस्त भएका छन्। चौध सयभन्दा बढी मानिसहरू घाइते भएका र दुई लाख ७० हजारभन्दा धेरै विस्थापित भएका सरकारले जनाएको छ।

बिहीवारको परकम्प लोम्बोकको पश्चिमोत्तर तटमा गएको थियो। परकम्प जाँदा आत्तिएर भागेका मानिसहरूले सडकमा कोलाहल गरेका थिए। सुनामीको चेतावनी पनि दिइएको थियो।बिहीवारको परकम्प अलि फरक थियो।

द्वीपको राजधानी मातारामस्थित होटेलको तेस्रो तल्लामा भएको मेरो कोठाका झ्यालहरू फुटे, पर्खाल चर्किए र छत भत्किन थाल्यो। केही नलिईकनै खाली खुट्टा, सकेजति चाँडो म दौडिएँ। भवनबाट बाहिर सडकतिर दौडिँदा भर्‍याङ मच्चियो। बाहिर मानिसहरू रोइरहेका थिए। उनीहरूमा त्रास स्पष्ट देखिन्थ्यो।

केन्द्रविन्दुभन्दा १३ किलोमिटर पर रहेका म बसेकाजस्ता बलिया भवनहरूले त्यस्ता भूकम्पलाई थेग्न सक्छन्। तर धेरै द्वीपवासीहरूका जीर्ण घरले सक्दैनन्। त्यसैले त्यति धेरै मानिसहरू घरबारविहीन भएका छन्।सहायताकर्मीहरू लोम्बोकको दुर्गम भेगतिर पनि जान थालेका छन्।

द्वीपका केही उत्तरी क्षेत्रहरूमा अझै पनि सहयोग पुग्न नसकेको विपद् निकायका प्रवक्ता सुतोपो पुर्वो नुग्रोहो बताउँछन्।झन्डै ४५ सय वर्ग किलोमिटर क्षेत्रफल भएको लोम्बोक बालीभन्दा पूर्वतिर अवस्थित छ।

त्यहाँ अधिकांश मानिसहरू साना समुदायमा सामान्य घरमा बस्थे। भूकम्पपछि हजारौँ मनिसहरू आफ्ना घरको भग्नावशेषमै वा बाहिर खुला आकाशमुनि बसिरहेका छन्।

पूर्वी र उत्तरी लोम्बोकस्थित गाउँहरूमा ७५ प्रतिशत घरहरू क्षतिग्रस्त भएका बताएको छ।अस्पताल र स्वास्थ्यकेन्द्रहरू पनि प्रभावित भएकाले घाइतेहरूलाई कामचलाउ संरचना बनाएर वा खुला आकाशमुनि नै उपचार गरिँदैछ।

गत हप्ता गएको अर्को भूकम्पमा कम्तीमा पनि १६ जनाको मृत्यु भएको थियो।भूकम्पका कारण पर्यटन उद्योग नराम्ररी प्रभावित हुने चिन्ता बढेको छ। लोम्बोक र नजिकै रहेका बाली एवम् गिली द्वीपबाट हजारौँ पर्यटकहरूलाई बाहिर पठाइएको छ।

इन्डोनेशिया प्रशान्त महासागरवरपर रहेको उच्च भूकम्पीय जोखिम भएको रिङ अफ फायरु क्षेत्रमा पर्छ। भौगर्भिक अवस्थितिले त्यहाँ भूकम्प गइराख्छ र ज्वालामुखी विस्फोट पनि भइराख्छ।

विश्वमा समुद्र सतहभन्दा माथि सक्रिय रहेका आधाभन्दा बढी ज्वालामुखीहरू सोही क्षेत्रमा छन्।बीबीसी



प्रतिक्रिया दिनुहोस्