Logo

आमाको नामबाट नागरिकता लिन बाबुको पहिचानको प्रश्न



काठमाडौं २५ साउन । सरकारले नागरिकतामा विभेदकारी व्यवस्थासहितको विधेयक संसद्मा दर्ता गराएको छ । आमाको नामबाट नागरिकता पाउने भए पनि बाबुको पहिचान खुल्नुपर्ने बाध्यकारी व्यवस्थासहितको विधेयक दर्ता गराएको हो । यो व्यवस्थाअनुसार आमाको नामबाट नागरिकता लिन चाहनेले बाबुको पहिचान हुन नसकेको स्वयंले वा आमाले स्वघोषणा गरे मात्र नागरिकता पाउनेछ ।

नेपाल नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफा ८ को उपदफा १ को खण्ड क (१) मा भनिएको छ, ‘नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोवास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिको हकमा निजको बाबुको पहिचान हुन नसकेको पुष्ट्याइँसहित निज वा निजको आमाले गरेको स्वघोषणा ।’

त्यस्तै विधेयकको दफा ३ को उपदफा ५ मा भनिएको छ, ‘नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमै बसोवास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्ति वंशजका आधारमा नेपालको नागरिक मानिनेछ ।’ तर, बाबुको पहिचान भई विदेशी नागरिक भएको ठहरिएमा वंशजको आधारमा लिएको नागरिकता अंगीकृतमा परिणत हुने व्यवस्था गरिएको छ ।

बाबु र आमामा मुख्य विभेद के ?
आमाको नामबाट नागरिकता प्राप्त गर्न सकिने स्पष्ट व्यवस्था सरकारले संसद्मा प्रस्तुत गरेको विधेयकमा छैन । आमाको नामबाट नागरिकता लिने भए बाबुको पहिचान खुल्नुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ । कुनै पनि व्यक्तिले आमाको नामबाट नागरिकता लिने भए उसले वा उसको आमाले बाबुको पहिचानबारे स्वघोषणा गर्नुपर्ने छ । गृह मन्त्रालयले यो विधेयक संसद्मा पु-याएको हो । गृह मन्त्रालयको कानुन महाशाखाका उपसचिव वशिष्ठ घिमिरेले आमाको नामबाट नागरिकता पाउने भन्ने स्पष्ट व्यवस्था विधेयकमा नराखेको स्वीकार गरे । उनले भने, ‘बुबा नभएमा मात्र आमाको नामबाट नागरिकता पाउने हो । बुबाको पहिचानबारे आमाले यसकारण बाबु छैनन् भन्ने कुरा उल्लेख गर्नुपर्छ ।’

गृह मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख नारायण दुवाडीले बुबाको कुरा उठाउनुपर्ने विषय नेपालको अवस्था र यसअघि नागरिकता वितरणमा देखिएको व्यवहारिक समस्यालाई हेरेर राखिएको बताए । गृहका प्रवक्ता रामकृष्ण सुवेदीले विधेयक संसद्मा पुगिसकेकाले यस विषयमा संसद्को विशेषाधिकार रहेको बताए । नयाँपत्रिकाबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot