Logo

सरकारको मातहतमा रहेर काम गर्ने संयन्त्रमध्ये राष्ट्रिय यूवा परिषद पहिलो हो : उपाध्यक्ष ढुंगेल



यस वर्षको अन्तर्राष्ट्रिय यूवा दिवस ‘यूवाका लागि सुरक्षित वातावरण’ भन्ने मुल नाराकासाथ मनाईदै 

काठमाडौं, २५ साउन । राष्ट्रिय यूवा परिषदका कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले यूवाहरुको नेतृत्व विकास, उद्यमशिलता, सुरक्षा र रोगजारीका क्षेत्रमा आफूहरुले उचित प्रतिफल दिएको दाबी गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालमा अन्तर्राष्ट्रिय यूवा दिवस–२०७५ का बारेमा जानकारी दिनको लागि राष्ट्रिय यूवा परिषदले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष ढुङ्गेलले यस्तो दाबी गरेका हुन ।

उनले भने,‘नेपाल सरकारको मातहतमा रहेका काम गर्ने संयन्त्रमध्ये हाम्रो परिषद पहिलो हो, स्थापना भएको तीन वर्षमा लागत र भौतिक परिणामलाई आधार मानेर हेर्ने हो भने हामीले काम गरेका छौं, यो हाम्रो दाबी हो ।’

उनले अघि थपे,‘यूवाका लागि सुरक्षित वातावरण’ भन्ने मुल नाराकासाथ हामीले राजधानीमा यूवामैत्री अन्तर्राष्ट्रिय यूवा दिवस मनाउँदैछौं, सबैलाई यस कार्यक्रममा भाग लिनको लागि हार्दिक आग्रह गर्दछौं ।’

त्यस्तै कार्यक्रममा राष्ट्रिय यूवा परिषदकी कार्यकारी सदस्य तथा अन्तर्राष्ट्रिय यूवा दिवस–२०७५ को कार्यदलको संयोजक भावना भट्टले अन्तर्राष्ट्रिय यूवा दिवस २०७५ को सम्पूण तयारी पूरा भएको जानकारी दिएकी छिन्।

अन्तर्राष्ट्रिय यूवा दिवस २०७५ लाई भव्य रुपमा सम्पन्न गर्न यूवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार (विश्वकर्मा) को अध्यक्षतामा १०१ सदस्यीय मुल आयोजक समिति बनेको छ । जुन समितिमा राजनीतिक र अन्य क्षेत्रका व्यक्तिहरुको उपस्थिति रहने आयोजकले जनाएको छ ।

८ सय जना यूवा उद्यमीहरुको उपस्थिति रहने उक्त कार्यक्रममा विभिन्न झाँकी, साँस्कृतिक, कला, साहित्यलगायत विभिन्न कार्यक्रमहरु गरिनेछन् । अन्तर्राष्ट्रिय यूवा दिवस कार्यक्रम साउन २४ देखि ३० सम्म साताव्यापी रुपमा नेपालका ७७ वटै जिल्लामा मनाईने आयोजकले जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा परिषदका उप–सचिव तथा सूचना अधिकृत ध्रुवराज पौडेल, परिषदका निमित्त प्रशासकीय प्रमुख कर्णबहादुर भुवाजी र यूवा तथा खेलकुद मन्त्रालयका उप–सचिव तथा सूचना अधिकारी महेन्द्र पौडेल लगायतको उपस्थिति रहेको थियो ।

सन् २०१० को विश्व यूवा विकास सूचांकमा नेपाल १ सय ४५ औं स्थानमा रहेको थियो भने सन् २०१६ मा केवल ७७ औं स्थानमा उक्लिएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot