Logo

बन्द भएको सिमेन्ट उद्योग खुल्यो



रोल्पा, २६ साउन । रोल्पा सिमेन्ट प्रालि र स्थानीय टिपर व्यवसायीबीचको असमझदारीका कारण बन्द रहेको रोल्पा सिमेन्ट उद्योग सञ्चालनमा आएको छ ।उद्योगसँग भएको सम्झौता बमोजिम आफूहरूले उद्योगको सामान ढुवानी गर्न पाउनुपर्ने माग राखी टिपर व्यवसायीले १० दिनदेखि आन्दोलन गरेका कारण उद्योग बन्द भएको थियो ।

लगातार सात दिन उद्योग बन्द भएपछि त्रिवेणी गाउँपालिकाले दुवै पक्षसँग छलफल गरी उद्योग सञ्चालनको वातावरण मिलाएको हो ।गत असारमा प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुखलगायतको उपस्थितिमा उद्योग र स्थानीयवासीबीच भएको सम्झौतामा स्थानीय टिपर व्यवसायीलाई काम लगाउने उल्लेख भएको व्यवसायीले बताएका छन् ।

सम्झौता तत्काल कार्यान्वयन गर्ने भनिए पनि लामो समयसम्म काम लगाउन उद्योगले तत्परता नदेखाएकाले आन्दोलन घोषणा गर्न बाध्य भएको टिपर व्यवसायीले बताएका छन् ।

पछिल्लो पटक भएको सम्झौता बमोजिम उद्योगले स्थानीय टिपर व्यवसायीका १० टिपर काममा लगाउने भएको छ । जसका लागि उद्योगदेखि दाङको अमेलिया डिपोसम्म प्रतिटन रु ८३५ का दरले भाडासमेत निर्धारण गरिएको बताइएको छ ।

व्यवसायीले प्रतिटन रु ९०० को माग गरेको र उद्योगले रु ८०० भन्दा दिन नसकिने भनिरहेको बेला त्रिवेणी गाउँपालिकाले दुवै पक्षलाई मान्य हुने गरी प्रतिटन रु ८३५ निर्धारण गरिदिएपछि दुवै पक्ष सहमत भएको त्रिवेणी गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले जानकारी गराए।

रोल्पा त्रिवेणी गाउँपालिका–३ बुढागाउँमा विसं ०६६ मा स्थापना भएको उक्त उद्योगले दैनिक दुई हजार ५०० बोरा सिमेन्ट उत्पादन गर्दै आएको छ । एक सय बढी प्राविधिक तथा अन्य कर्मचारी र मजदुरले रोजगारी पाएको उक्त उद्योगबाट उत्पादित सिमेन्ट भने जिल्ला बाहिर जाने गर्दछ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot