Logo

विश्व कीर्तिमानका लागि ९० घण्टाको प्रवचन



काठमाडौँ, २६ साउन । योगसाधक एवं उत्प्रेरक वक्ता अनन्तराम केसीले विश्व कीर्तिमान राख्ने उद्देश्यसहित ९० घण्टा निरन्तर वक्तव्य÷प्रवचन दिने भएका छन। नुवाकोट शिवपुरी गाउँपालिका–१, हाल टोखा नगरपालिका–११ निवासी केसीले नेपालीको गौरवपूर्ण इतिहास रच्न आफूले आगामी भदौ ११ गतेदेखि विश्वको सबैभन्दा लामो प्रवचन दिन लागेको जानकारी गराएका छन ।

यसअघि भारत केरलाका केपी भल्सराजनको ८१ घण्टा १६ मिनेट निरन्तर प्रवचन दिएको विश्व कीर्तिमान कायम भएको छ । निरन्तर प्रवचनको क्षेत्रमा आफूले नयाँ कीर्तिमान राख्ने तयारीमा लागेको केसीले बताउन्छन । उनले आगामी भदौ ११ गते बिहान ६ बजेदेखि गोकर्णेश्वर नपा–५ जोरापाटीस्थित इस्टकोल माविमा बेलायतबाट आउने गिनिज बुक अफ वल्र्ड रेकर्डका प्रतिधिनिकाबीच आफ्नो प्रवचन शुरु गर्ने कार्यक्रम रहेको जनाईएको ।

सतहत्तर जिल्ला र भारतको छ वटा प्रान्त गरी कूल १२ हजार ५०० किलोमिटर पैदलयात्रा गरेका योगसाधक केसीले यसअघि २१ दिनको जलउपवास, छ महिनाको मौन साधना र नौ दिनको भूतपस्यासमेत गरिसकेका छन । विश्वकै लामो प्रवचन दिई विश्व कीर्तिमान राख्ने उद्देश्यले उनले यसअघि नै ८८ घण्टा लामो प्रवचन दिएका थिए। तर प्राविधिक समस्याका कारण उनको उक्त प्रवचन गिनिज बुकमा कायम हुनसकेको थिएन ।

विश्वको सबैभन्दा लामो दाबी गरिएको वक्तव्य÷प्रवचनका बारेमा जानकारी दिन आज यहाँ आयोजित कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डा रामशरण महतले विश्व कीर्तिमान राख्न गरिने यस प्रकारको कर्मले नेपाल र नेपालीको शिर उँचो बनाउने बताएका छन ।

सो अवसरमा काँग्रेस नुवाकोटका सभापति जनदीशनरसिंह केसी, काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्की, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीलगायतले विश्वको सबैभन्दा लामो प्रवचन दिई नेपाल र नेपालीको तर्फबाट विश्व कीर्तिमान कायम राख्न योगसाधक केसीलाई शुभकामना दिएका थिए। रासस



प्रतिक्रिया दिनुहोस्