बनेपा काभ्रेपलाञ्चोक, २६ साउन / भूकम्पले भत्किएको घर पुनःनिर्माण शुरु गरी दोस्रो किस्ताका लागि फारम भर्न जाँदा वडा कार्यालयमा खटिएका प्राविधिकले म्याद सकियो भनी फर्काएको पीडितले गुनासो गरेका छन् ।
बनेपा नगरपालिका–१३ बुढाथोकी गाउँकी मीठु बुढाथोकी पहिलो किस्ताले जग निर्माण गरी दोस्रो किस्ताको फारम भर्न एक साताअघि वडा कार्यालय पुग्नुभयो । वडा कार्यालयमै खटिएका सहायक इञ्जिनियर प्रवीणकुमार यादवले म्याद सकियो भनेपछि आफू फर्किएको उहाँले बताउनुभयो ।
रासससँग कुरा गर्नुहुँदै इञ्जिनियर यादवले दोस्रो किस्ताको फारम नभर्नु भन्ने खबर माथिबाट आएकाले नभरिएको जानकारी गराउनुभयो । गत असार मसान्तसम्म दोस्रो किस्ता लिइसक्नुपर्ने राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिको गत चैतको बैठकले गरेको थियो ।
प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृतको पद रिक्त भएको एक महिना बितिसक्दा पनि नियुक्त नगरिएकाले म्याद थप गर्ने निर्णय हुनसकेको छैन । वडाध्यक्ष सूर्यनारायण नापित प्राधिकरणको निर्णय वडासम्म नआउँदा कार्यालय नै के गर्ने भन्ने अन्योलमा रहेको बताउनुहुन्छ ।
पीडित वडा कार्यालयमा सम्पर्क गर्न आउने भए पनि वडासँगै जानकारी नहुने गरेको उहाँले सुनाउनुभयो । प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले भने काम जारी राख्न निर्देशन दिइसकिएको बताउनुहुन्छ । (रासस)