Logo

रु ३५ करोडमा सार्कस्तरीय प्रदर्शनी कक्ष



काठमाडौँ,  २६ साउन । नेपाल घरेलु तथा साना उद्योग विकास समितिले लघु, घरेलु तथा साना उद्योगलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सार्कस्तरीय प्रदर्शनी कक्ष निर्माण गर्ने भएको छ ।

लामो समयदेखि लघु, घरेलु तथा साना उद्योगको विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेलेको समितिले काठमाडौँको बत्तिसपुतलीमा सार्कस्तरीय लघु, घरेलु तथा साना उद्योग प्रदर्शनी तथा बिक्री कक्ष निर्माण गर्न लागेको हो । रु ३५ करोडको लागतमा एउटा ठूलो र दुई मध्यम हलसहित ६ तल्ले भवन निर्माण गर्न लागिएको समितिका प्रवक्ता विश्वरमण आचार्यले जानकारी गराएका छन। उक्त भवन ११ रोपनी क्षेत्रफलमा निर्माण गरिनेछ ।

“भवन निर्माणले लघु, घरेलु तथा साना उद्योगको विकासमा सहयोग पुग्नेछ,” उनले भने। भवन निर्माणका लागि सरकारले चालू आवमा रु दुई करोड १० लाख विनियोजन गरेको छ । सो भवन बहुवर्षीय योजनाअनुसार निर्माण हुनेछ । हाल समितिले देशभरका लघु, घरेलु तथा साना उद्योगको प्रदर्शनी काठमाडौँको भृकुटीमण्डपस्थित हलमा गर्दै आएको छ । रासस



प्रतिक्रिया दिनुहोस्