Logo

जाजरकोटको विकासका लागि पछि हट्दीन: राजीव विक्रम शाह



काठमाडौं, २६ साउन । पुर्व सांसद राजीव विक्रम शाहले निर्वाचनमा पराजय व्यहोरे पनि जिल्लाको विकास र समृद्धिका लागि आफू पछि नहट्ने बताएका छन् ।

विपि स्मृति भवन सानेपामा सम्पन्न जाजरकोट काठमाडौं सम्पर्क समिति गठन कार्यक्रमको भेलामा बोल्दै पूर्व सांसद शाहले यस्तो बताएका हुन् । नेपाली कांग्रेसमा आबद्ध नेताहरुले जिल्लाको विकासका लागि धेरै भन्दा धेरै कार्य गरे पनि जनतालाई यसबारे प्रस्ट पार्न नसक्नु पार्टीको कमजोरी रहेको पूर्व सांसद राजीव विक्रम शाहको तर्क थियो ।

आफू निर्वाचित हुदा जिल्लाका विभिन्न ठाउँमा सडक, पुल, खानेपानी लगायत विकासका कार्यहरु संचालन गरेको प्रस्ट पार्दै निस्वार्थ रुपले जनताको सेवा गर्न जाजरकोटको दशेरामा सुविधा सम्पन्न अस्पताल निर्माण गरेको बारेमा विपक्षीहरुले भ्रम छरेको समेत उनले आरोप लगाए ।

त्यसैगरी विगतमा जिल्लाको विकासका लागि नेपाली कांग्रेसले निर्वाह गरेको भुमिका जनताहरुले विस्तार बुझ्दै जाने नेपाली कांग्रेस जाजरकोटका सभापति दिपक जंग शाहले दाबी गरे ।

आगामी दिनमा विगतका कमी कमजोरीहरुलाई सुधार गर्दै पार्टी संगठन सुधारमा लागि पर्ने बताउदै जिल्लाको विकास लागि नेपाली कांग्रेसनै निर्विकल्प पार्टी भएको उनको धारणा थियो । साथै आउदो असोज महिना देखि जिल्लामा पार्टी संगठन सुदृढिकरणका लागि गाउँगाउँ पुग्न आन्तरिक तयारी भैरहेको समेत सभापति शाहले जानकारी दिए ।

कार्यक्रमका सहभागीहरुले जिल्ला र गाउँमा पुगेर नेपाली कांग्रेस जाजरकोटले आफ्नो संगठनलाई सुदृढ गर्दै मजबुत बनाउनुपर्ने सुझाव दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्