Logo

भारतसँग व्यापारसम्बन्धी समस्या भए मोदी आएको बेला गाँठो फुकाउनुपर्छ : डा. शर्मा



काठमाडौं, २६ साउन । पूर्वराजदुत डा. शंकर शर्माले काठमाडौंमा यही अगष्ट ३० र ३१ मा हुने विमस्टेक शिखर सम्मेलनमा नेपालले कनेक्टिभीटी र विद्युत व्यापारमा बढि जोड दिनुपर्ने बताएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै शर्माले भने,‘नेपालले विद्युत र पर्यटन क्षेत्रको विकास र प्रर्वद्धनमा बढि जोड दिनुपर्छ । विमस्टेकका सदस्य राष्ट्रहरुसँग नेपालको पर्यटन वृद्धि र विद्युत व्यापार बढाउनुपर्छ ।’ नेपालले यी मुद्दामा बढि जोड दियो भने व्यापार घाटा कम गर्न सकिने पनि उनको जोड थियो ।

शर्माले अघि थपे,‘जलविद्युतमा हामीले सहकार्य गर्न सक्यौं भने बढिभन्दा बढि लाभ हाँसिल गर्न सक्छौं । नेपालमा धार्मिक, आध्यात्मिक, सांस्कृतिक र साहसिक पर्यटनको बढि सम्भावना छ । यसको विकासमा नेपालले ध्यान पुर्याउनुपर्छ । विमस्टेक राष्ट्रहरुसँग मिलेर यसको प्रवद्र्धनमा जोड दिनुपर्छ । अहिले उपर्युक्त मौका हो ।’

विमस्टेक राष्ट्रहरुबीच कनेकक्टिभीटी कमजोर रहेको सुनाउँदै अब यो सम्मेलनमार्फत एक अर्का राष्ट्रबीच जोडिने सञ्जालहरुलाई बढावा दिनुपर्ने शर्माको भनाई छ । उनले भने,‘हवाई, जल, सडक सबै सञ्जालहरुलाई अघि बढाउनुपर्छ । अहिले धेरै ग्याप देखियो ।’

नेपालले विमस्टेकलाई सही सदुपयोग गर्नुपर्ने शर्माको भनाई छ । उनले भने,‘विमस्टेकमार्फत हामीले आर्थिक वृद्धि हाँसिल गर्नुपर्छ । विज्ञान तथा प्रविधि क्षेत्रको पनि विकास उतिकै महत्वपूर्ण छ । जीवनस्तर उकास्नको लागि पनि विमस्टेक उपयोगी छ ।’ तालिम तथा अनुशन्धनात्मक कार्यक्रमहरु पनि विमस्टेकमार्फत अघि बढाउन नेपालले जोड दिनुपर्ने उनको सुझाव छ ।

विमस्टेकमार्फत नेपालले लगानी भित्र्याउनुपर्ने पनि उनको जोड छ । उनले भने,‘विमस्टेकको बजारलाई बढाउनुपर्छ । भन्सारलाई व्यवस्थित् गर्नुपर्छ ।’

उक्त सम्मेलनमा भाग लिनको लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीपनि नेपाल आउने भएकोले नेपालले बहुपक्षीय सम्बन्धमा विशेष ध्यान पुर्याउनुपर्ने बताए । उनले भने,‘भारतसँग यदि व्यापार तथा पारवाहनसम्बन्धी केही समस्या भए मोदी आएकै बेलामा गाँठो फुकाउनुपर्छ ।’

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot