Logo

‘मन्त्री ज्यू, बिजुली बाल्न पाएनौँ ’



रमेश लम्साल: काठमाडौँ, २६ साउन / सरकारले सुकुम्बासीलाई विद्युत् मिटर उपलब्ध गराउने बताएको थियो, तर मिटर नपाएका कारण बिजुली बाल्न पाएनौँ, समस्याको समाधान हुन्थ्यो कि मन्त्री ज्यू ।

यो भनाइ हो टीकापुरकी कमला विश्वकर्माको । ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले पैसा नलाग्ने नम्बरमा जनताको गुनासा सुन्ने र समस्याको सम्बोधनसमेत गर्ने जानकारी पाएपछि उहाँले ११५१ नम्बरमा फोन लगाउनुभयो ।

फोन उठाउनेमा हुनुहुन्थ्यो ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पुन । आफ्नो नाम बताउँदा कापेको जस्तो स्वर भए पनि कमलाले समस्या भने प्रष्टसँग राख्नुभयो । उहाँले भन्नुभयो, “हाम्रो जग्गा जमीन छैन, तर जहाँ बसिरहेका छौँ, हामीले बिजुली बाल्न पाउँदैनाँै र मन्त्री ज्यू ।” कमलाको समस्या सविस्तार सुनेपछि मन्त्री पुनले भन्नुभयो, “तपाईहरु निवेदन लेखेर नेपाल विद्युत् प्राधिकरणको टीकापुर वितरण केन्द्रमा जानुस्, मैले अहिले नै सो वितरण केन्द्रका प्रमुखलाई फोन गरिदिन्छु । तपाईका लागि पोल र मिटरको प्रबन्ध हुन्छ ।” मन्त्रीको जवाफ सुनेपछि कमलाले मन्त्री पुनलाई धन्यवाद मन्त्री ज्यू भन्दै फोन राख्नुभयो ।

यस्तै इलामबाट गणेश मगरले देउमाई नगरपालिकाका केही वडामा विद्युत्का पोल काठको भएका कारण दुर्घटनाको जोखिम बढेको भन्दै तत्काल बदलिदिन मन्त्री पुनलाई आग्रह गर्नुभयो ।

उहाँले समस्या समाधानका लागि प्राधिकरणको इलाम वितरण केन्द्रलाई निर्देशन दिने र प्रक्रियासमेत शुरु हुने जानकारी दिनुभयो । चन्द्रागिरि नगरपालिका थानकोटबाट रवीन्द्रकुमार कार्कीले मन्त्री पुनसमक्ष प्राधिकरणले केवल लाइन नजोडिदिएका कारण समस्या परेको भन्दै गुनासो गर्नुभयो । उहाँको गुनासो तत्कालै प्राधिकरणको कुलेश्वर वितरण केन्द्रले समाधान गर्ने भन्दै मन्त्री पुनले आश्वस्त तुल्याउनुभयो ।

सुर्खेतका गणेश वलीको समस्या भने विद्युत् भार कटौतीको समस्यासँग जोडिएको विषय थियो । सरकारले विद्युत्भार कटौतीको अन्त्य गरेको लामै समय भयो, तर सुर्खेतमा पटकपटक विद्युत् काटिने समस्याका कारण विद्युतीय उपकरण पड्कने गरेको, दैनिक काम कारबाहीमा समेत अवरोध आएको भन्दै सुनुवाइ गरिदिन आग्रह गर्नुभयो ।

दाङका विष्णु वलीले सिंचाइ सुविधाको अभावमा तुल्सीपुर नपा–४ मा स्थानीयले कष्ट व्योहोर्नु परेको भन्दै विद्युत् लाइन विस्तार गरिदिन आग्रह गर्नुभयो । विद्युत् लाइन विस्तार भए खेतीपातीका लागि पानी तान्न सकिने भन्दै उहाँले जमीन बाँझो राख्नुपर्ने बाध्यताकोसमेत अन्त्य हुने मन्त्री पुनलाई गुनासो सुनाउनुभयो ।

वलीको गुनासो सुनेपछि मन्त्री पुनले भन्नुभयो, “सिँचाइ कार्यालय दाङलाई आजै मन्त्रालयले सत्कर्म गर्छ, आवश्यक प्रक्रिया मिलाएर विद्युत् लाइन विस्तारको काम अगाडि बढ्छ ।” मन्त्री पुनले सो कार्यका लागि स्थानीय बासिन्दा समेत सिँचाइ कार्यालयमा पुगेर पहल गर्न आग्रह गर्नुभयो । “मन्त्रालयले सम्पर्क गर्छ, तपाईहरु पनि सम्बन्धित निकायमा पहल गर्नुस् ।”

रामेछापका विष्णु अधिकारीले प्राधिकरणमा लामो समयदेखि कार्यरत ज्यालादारी कर्मचारीको समस्या समाधान गरिदिन आग्रह गर्नुभयो । यस्तै समस्या राख्नुभयो गणेशप्रसाद खतिवडाले पनि । पाटन नपा–९ बैतडीका वडाध्यक्ष लोकेन्द्र भण्डारीले विगत दुई वर्ष पहिले बिजुलीको पोल गाडिएको भए पनि हालसम्म तार तान्ने र ट्रान्सफर्मर जडानको कार्यसमेत अगाडि नबढेको भन्दै स्थानीय बासिन्दाले कहिले बत्ती बाल्न पाउँछन् मन्त्री ज्यू भन्दै जिज्ञासा राख्नुभयो । भण्डारी जनप्रतिनिधि पनि भएकाले स्थानीयको समस्या जस्ताकोतस्तै आएको भन्दै मन्त्री पुनले तत्काल बैतडी वितरण केन्द्रलाई निर्देशन दिने र तार तथा ट्रान्फर्मरको व्यवस्था हुने बताउनुभयो ।

टीकाथली–५ ललितपुरका धीरेन्द्र दाहालले एक वर्ष पहिले पोल गाडेको भए पनि मिटर नपाएको भन्दै गुनासो गर्नुभयो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पुनले हरेक शुक्रबार एक घण्टा जनताको गुनासो सुन्ने र समस्याको समाधान गर्ने हटलाइन सेवा शुरु गर्नुभएको छ ।

शुक्रबार देशभरबाट १४ जनाले टेलिफोन गरी समस्या समाधान गरिदिन आग्रह गरेका थिए । सबैको समस्या विस्तारमा सुनेर मन्त्री पुनले भन्नुभयो, “समस्या समाधानका लागि सम्बन्धित कार्यालय नै जिम्मेवार भए स्थानीयले समस्या भोग्नु पर्दैनथ्यो ।” मन्त्री पुनले टेलिफोनमा प्राप्त भएका सबै गुनासोको सम्बोधनका लागि सम्बन्धित कार्यालयलाई जिम्मेवार बनाउने र उपभोक्ताको समस्या समाधानमा ध्यान दिन निर्देशन दिने बाचा गर्नुभयो ।

यही साउन १८ गतेदेखि शुरु भएको हटलाइन सेवामा पहिलो दिन १६ जनाले आआफ्ना समस्या सुनाएका थिए भने शुक्रबार १४ जनाले गुनासो गरेका थिए । (रासस)



प्रतिक्रिया दिनुहोस्

Screenshot