Logo

नोबेल पुरस्कार बिजेता भिएस नाइपलको मृत्यु



काठमाडौँ,२७ साउन । नोबल साहित्य पुरस्कार विजेता लेखक भिएस नाइपलको ८५ वर्षको उमेरमा लण्डनस्थित उनको निवासमा निधन भएको परिवारले जनाएको छ।

सन् १९३२ मा ट्रिनिडाडमा जन्मिएका उनी आफ्ना महान् साहित्यिक कृति अ हाउस फर मिस्टर विश्वास र अ बेन्ड इन द रिभरका लागि चर्चित रहेका थिए।३० भन्दा बढी पुस्तक लेखेका भिएस नाइपलले सन् १९७१ मा बुकर पुरस्कार जितेका थिए भने सन् २००१ मा साहित्यतर्फ नोबल पुरस्कार जितेका थिए।

उनकी श्रीमतीले नाइपलले जे हासिल गरे त्यो बृहत् भएको बताएकी छन्। नाइपलको आफ्ना प्रियजनका माझ नै मृत्यु भएको उनकी श्रीमतीले जानकारी गराएकी छिन।

नाइपलका निकट साथी तथा मेल पत्रिकाका सम्पादक जियोर्डी ग्रेगले उनको निधनले ब्रिटेनको साहित्यिक सम्पदामा एउटा अपूरणीय क्षति पुगेको तर उनका कृतिहरू भने सँधै जीवित रहनेमा कुनै शंका नरहेको बताएका छन्।सामाजिक सञ्जालहरूमा पनि नाइपलका प्रशंसकहरूले उनको निधनप्रति दुख व्यक्त गरिरहेका छन्।

लेखक आनन्द गिरिधरादासले आफूले नाइपलबाट धेरै कुरा सिकेको बताएका छन् भने अर्का लेखक जीत हिरले उनलाई शक्तिशाली उपन्यासकार भनेर दाबी गरेका छन।सौन्दर्य लेखिका पट्रिस योरसिकले उनलाई क्यारिबियन साहित्यका महारथी भनेकी छन्।

एकजना प्रशंसकले आफूलाई पढ्नका लागि नाइपलले जति कसैले प्रेरित नगरेको भनेका छन् भने अर्का एकजनाले चाहिँ नाइपलको अ हाउस फर मिस्टर विश्वासको सम्झना आफूसँग तीस भन्दा बढी वर्षदेखि रहँदै आएको भनि ट्वीट गरेका छन्।

नाइपल सानै छँदा उनलाई उनका बाबुले शेक्सपियर र डिकेन्सका किताब पढेर सुनाउँथे।हिन्दु धर्म अनुसार हुर्किएका उनले ट्रिनिडाडस्थित क्विन्स रोयल कलेजमा पढेका थिए।त्यसपछि उनी ब्रिटेन गए र त्यहाँ सन् १९५० मा सरकारी छात्रवृत्तिमार्फत् उनी अक्सफर्ड विश्वविद्यालयमा भर्ना भए।

विद्यार्थी हुँदा उनलाई उदास हुने रोग डिप्रेसन भएको थियो र आत्महत्याको प्रयाससमेत गरेका थिए।उनको पहिलो पुस्तक द मिस्टिक मसुर सन् १९५१ मा प्रकाशित भएको थियो र त्यसको एक दशकपछि उनको सबैभन्दा रुचाइएको पुस्तक अ हाउस फर मिस्टर विश्वास प्रकाशित भएको थियो।उक्त पुस्तक लेख्न उनले ३ वर्षभन्दा बढी समय लगाएका थिए।

उनको पहिलो श्रीमती प्याट्रिसिया हेलको सन् १९९६ मा निधन भएको थियो र त्यसपछि उनले पाकिस्तानी पत्रकार नदिरासंग विवाह गरेका थिए।उनी स्पष्टवक्ता थिए र ब्रिटेनका पूर्व प्रधानमन्त्री टोनी ब्लेयरको आलोचकका रूपमा चिनिएका थिए।बीबीसी



प्रतिक्रिया दिनुहोस्

Screenshot