Logo

कला विश्वविद्यालय खोल्ने अवधारणामा सरकार



काठमाडौँ, २७ साउन । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकारले कला विश्वविद्यालयको अवधारणा ल्याउन लागेको बताएका छन ।

‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिका पहचिान’ भन्ने नाराका साथ नृत्य निर्देशक संघ नेपालको दोस्रो राष्ट्रिय नृत्य महोत्सव २०७५ को उद्घाटन गर्दै मन्त्री अधिकारीले विश्वविद्यालयमार्फत कला, संस्कृति विषयमा उच्च शिक्षा हासिल गर्ने र त्यसमार्फत नयाँनयाँ प्रतिभा उत्पादन हुने विश्वास व्यक्त गरेका हुन ।

उनले सांस्कृतिक एकता नै नेपालीको राष्ट्रियता भएको बताउँदै महोत्सव हिमाल, पहाड, तराई सबै ठाउँमा फैल्याउन आग्रहसमेत गरेका छन । कला र संकृतिमा नेपाल संसारकै धनी भएको बताउँदै नेपाली कला, संस्कृति र सम्पदालाई संसारभर फैल्याउनुपर्ने उल्लेख गरे । उनले राष्ट्रिय नृत्य दिवसको घोषणा गर्न सकिने तर, बिदा दिन भने नसकिने स्पष्ट पारेका थिए ।

उनले भने, “नृत्य दिवस भनेको तीन करोड नेपाली सबै नाच्न सक्ने दिवसको हामीलाई खाँचो छ, बिदा दिने दिवसको होइन, दिवस भन्नेबितिक्कै बिदा होइन देशभरि नै नृत्यको माहोल सिर्जना गर्ने दिवसको अवश्यकता छ ।”

सो अवसरमा विभिन्न जातजाति र भाषाभाषीको संस्कृति र वेषभूषा झल्कने परम्परागत नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रबाट संघलाई सहयोग गर्ने व्यक्ति तथा संघसंस्थालाई कदरपत्रद्वारा सम्मान गरिएको थियो ।

यसअघि संघका पदाधिकारीले मन्त्री अधिकारीसमक्ष राष्ट्रिय नृत्य दिवस घोषणा गरी सार्वजनिक बिदा दिन आग्रह गरेका थिए । रासस



प्रतिक्रिया दिनुहोस्