Logo

शिक्षकका सफलताका कथा



काठमाडौँ, २८ साउन । ‘शिक्षकको सफलताका कथाको आदानप्रदान सम्मेलन’ पहिलोपटक भएको छ । कलङ्कीस्थित लर्निङ रियल्म इन्टरनेशनल विद्यालयलले आयोजना गरेको उक्त सम्मेलनमा नेपालसहित सातवटा मुलुकको सहभागिता थियो । सम्मेलनमा भारत, चीन, पाकिस्तान, दक्षिण कोरिया, क्यानडा र अष्ट्रेलियाका प्रतिनिधिले भाग लिएका छन् ।

शिक्षण सिकाइमा सशक्त प्रभावकारी बनाउने उद्देश्यले गरिएको उक्त कार्यक्रममा देशभरका निजी तथा सामुदायिक गरी ३० विद्यालयका २५० शिक्षक सहभागी थिए । पाकिस्तान, दक्षिण कोरिया, क्यानडा र अष्ट्रेलियाका शिक्षकले अनलाइनमार्फत सफलताका कथा सम्मेलनमा प्रस्तुत गरेका थिए । कार्यक्रममा २५ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

प्रमुख प्रस्तोताका रुपमा प्राडा जयराज आचार्यले दार्चुलामा जन्मेर स्थानीय विद्यालयमा पढ्दादेखि ‘फूलब्राइट’ छात्रवृत्ति प्राप्त गरी संयुक्त राज्य अमेरिकामा अध्ययन पूरा गर्दाका विभिन्न आरोहअवरोहका कथा सुनाएका थिए। उनले शिक्षक बन्नका लागि आफूले शाखा अधिकृतको जागीर छाडेर चार दशक लामो शिक्षण पेशामा क्रियाशील रहेको बताएका थिए।

विद्यार्थीको चाहनालाई बुझेर शिक्षकले अध्यापन गर्नुपर्ने बताउँदै डा आचार्यले कक्षाकोठाभित्र तथा बाहिर रमाइलो वातावरणमा पढाउन सकेमा सैद्धान्तिक र व्यावहारिकरुपमा विद्यार्थी अब्बल हुने सुझाव दिएका छन ।

ब्रिटिश काउन्सिलका कार्यक्रम संयोजक वैशाली प्रधानले सफल शिक्षकले विद्यार्थीका अनुभवसमेत सुनेर त्यसलाई प्रतिविम्बित गर्नुपर्नेमा जोड दिए । दक्षिण कोरियामा लामो समयदेखि समाजशास्त्रकाबारे प्राध्यापन गरिरहेका मधुसुदन आत्रेयले कोरियामा उच्च शिक्षाको सम्भाव्यताकाबारे जानकारी गराउँदै नेपाली विद्यार्थीका लागि कोरियामा विभिन्न छात्रवृत्तिसमेत रहेकाले उच्च शिक्षा हासिल गर्न एक आकर्षक गन्तव्य कोरिया बन्दै गएको जनाए ।

त्रिविका उपप्राध्यायपक बलराम अधिकारीले विभिन्न ठाउँमा आफू असफल हुँदै शिक्षक बन्न पुगेको बताएका थिए । उनले भने, “अनुवादमा मैले तृतीय श्रेणी प्राप्त गरेको थिएँ, अहिले सोही विषयमा म अब्बल छु ।”

समूहगतरुपमा गरिएको छलफलमा सहभागीले कक्षाकोठामा पसेपछि शिक्षकले विद्यार्थीलाई समस्या र चुनौती मात्र देखाउन नहुने सम्भाव्यताबारे बताउनुपर्ने सुझावसमेत दिएका थिए । विद्यालयका अध्यक्ष शिवराज पन्तले पछिल्लो समय विकास भएका प्रविधिसँग विद्यार्थीलाई जोड्नुपर्ने बताउँदै लेखेर भनेरभन्दा पनि दृश्यावलोकनका माध्यमबाट दिइने शिक्षा धेरै प्रभावकारी हुने विचार व्यक्त गरेका छन।

विद्यालयका प्रिन्सिपल डा देवकान्त जोशीले अहिलेका अधिकांश विद्यार्थीमा राम्रो ज्ञान भए पनि सामाजिक समस्या समाधानका लागि आत्मबलको विकास हुन नसकेको टिप्पणी गर्दै उनीहरुलाई विश्व परिवेशमा भएका ज्ञान विज्ञानलाई इन्टनेटका माध्यमबाट सिकाउनुपर्नेमा जोड दिएका थिए । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot