Logo

धरानमा ६ महिनादेखि प्रिन्सिपलबाट किशोरी बलात्कृत



सुनसरी, २८ साउन । जिल्लाको धरान उपमहानगरपालिका–५ साउनेस्थित मदर इंग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल झमक बस्नेतले हाडनाताकी एक किशोरीलाई जबर्जस्ती करणी गर्दै आएको घटना सार्वजनिक भएको छ । कक्षा १२ मा पढ्दै आएकी किशोरीलाई बस्नेतले ६ महिनादेखि जबर्जस्ती करणी गर्दै आएका हुन् ।

घटना सार्वजनिक भएपछि बस्नेत फरार छन् । आफूलाई कक्षा ११ मा पढ्दादेखि नै कसैलाई भने हत्या गर्ने धम्की दिएर बस्नेतले जबर्जस्ती गर्दै आएको किशोरीको भनाइ छ ।

बस्नेतले गएको फागुन २५ गते पहिलोपटक किशोरीलाई जबर्जस्ती करणी गरेका थिए । त्यसपछि हल्ला गरे परिवारै सिध्याइदिने धम्की दिँदै उनले निरन्तर करणी गर्दै आएका पीडितको भनाइ छ । आफूमाथि बस्नेतले डरधम्की देखाउँदै निरन्तर करणी गर्न थालेपछि किशोरीले अभिभावकलाई आफ्नो पीडा सुनाएकी हुन् ।

पीडित परिवारले गएको असार १० गते इलाका प्रहरी कार्यालय धरानमा बस्नेतविरुद्ध उजुरी गरेका थिए । आफूविरुद्ध उजुरी परेको थाहा पाएपछि बस्नेतले उजुरी फिर्ता लिएर घरमै मिलाउन दबाब दिए । प्रहरीले समेत बस्नेतलाई पक्राउ नगरेपछि पीडित परिवारले न्याय माग्दै महिला सञ्जाल धरानमा गएको असार १८ गते निवेदन दिएका छन् ।

सञ्जालकी अध्यक्ष सविता राईले बस्नेतमाथि कारबाहीका लागि पहल भइरहेको बताइन् । धरान उपमहानगरपालिकाको न्यायिक समिति, इलाका प्रशासन कार्यालय र इलाका प्रहरी कार्यालय धरानमा आइतबार पीडित परिवारले दोषीमाथि कारबाहीको माग गर्दै उजुरी दर्ता गरेका छन् ।

३० लाख र दुई कट्ठा जग्गा लिएर मिल्न दबाब

बस्नेतका साहिँला भाइ शमशेर बस्नेत दीपकलगायतले पीडित परिवारलाई मोटो रकमको प्रलोभन दिँदै मिलापत्र गर्न दबाब दिँदै आएका पीडित किशोरीका बुबाले बताए ।

‘३० लाख रुपैयाँ र दुई कट्ठा जग्गा दिन्छौँ, कतै निवेदन नदिनू । छोरीकै बदनाम हुन्छ भन्दै धम्क्याउने काम गरिरहेका छन्,’ किशोरीका बुबाले भने । उनले दोषी बस्नेतलाई कानुनी कारबाहीबाट आफूहरू पछि नहट्ने बताए ।

किशोरी मानसिक समस्यामा

बलात्कृत किशोरी मानसिक समस्यामा परेकी छिन् । घटनापछि उनको पढाइ पनि प्रभावित भएको परिवारका सदस्यले बताएका छन् ।किशोरीलाई १३ दिनअघि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मानसिक विभागमा १३ अघि भर्ना गरिएको छ । हाल उनी औषधि खाएर चिकित्सकको निगरानीमा बसेकी छिन् ।

बस्नेतले आफ्नै विद्यालयका अन्य छात्रालाई पनि दुव्र्यवहार गर्ने गरेको महिला सञ्जालकी अध्यक्ष सविता राईले बताइन् । ‘बस्नेतले अरूलाई अफिसमा बोलाएर संवेदनशील अंंगमा छुने, धाप मार्नेजस्ता गतिविधि गर्ने गरेको उजुरी परेको छ,’ राईले भनिन् । बस्नेतबाट धेरै किशोरी र बालिका पीडित भएको हुन सक्ने राईले बताइन् । नयाँ पत्रिका



प्रतिक्रिया दिनुहोस्