Logo

एडिबी सहयोग



खोटाङ, २८ साउन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा खानेपानी व्यवस्थापनका लागि एशियाली विकास बैंक एडिबी ले सहयोग गर्ने भएको छ । नगरप्रमुख दीपनारायण रिजाल र खानेपानी तथा ढल विकास विभाग काठमाडौँका निर्देशक रामचन्द्र यादवबीच आइतबार सम्झौतापत्रमा हस्ताक्षर भएको नगरपालिकाले जनाएको छ ।

एडिबीको आर्थिक सहयोगपछि अब दिक्तेलबजारका एक हजार १०० घरधुरीले स्वच्छ खानेपानी पिउन पाउने भएका छन् । नगरपालिकामा सञ्चालन हुने खानेपानी आयोजनाका लागि हप्तादिन भित्रमा टेण्डर आह्वान हुने नगरप्रमुख रिजालले बताएका छन। “आगामी १८ महिनाभित्र काम सम्पन्न गरेर ५० वर्षसम्म स्वच्छ खानेपानी उपलब्ध गराइनेछ लक्ष्य छ,” उनले बताएका छन ।

खानेपानी विस्तारका लागि हाल दिक्तेलबजारमा सञ्चालनमा रहेको रम्बाखोला र रामपुर गरी तीन वटा मुहानबाट खानेपानी ल्याइने जनाइएको छ । रु ३२ करोडको लागतमा निर्माण हुने आयोजनाका लागि उपभोक्ताको पाँच प्रतिशत, सात करोड नगर विकास कोषबाट ऋण अनुदान र ७० प्रतिशत अर्थात् अन्य रकम एडिबीको सहयोगमा हुने नगरप्रमुख रिजालको भनाइ छ ।

‘एक वडा एक प्रसूति गृह’

ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाले सबै वडामा प्रसूति गृह स्थापना गर्ने अभियान थालेको छ । गाउँपालिकाले मातृ तथा बाल मृत्युदरलाई कम गर्न ‘एक वडा एक प्रसूति गृह’ अभियान थालेको हो ।

समयमै प्रसूति सेवा नपाउँदा अकालमा सुत्केरी आमा र बच्चाको ज्यान जाने जोखिमबाट बचाउन एक वडा एक प्रसूति गृह स्थापना गर्ने अभियान थालिएको गाउँपालिकाका अध्यक्ष नवराज केसीले जानकारी गराए। चेतनाको अभाव र नजिकमा स्वास्थ्य संस्था नहुँदा धेरै सुत्केरी महिला र बच्चाले ज्यान गुमाउनुपर्ने समस्या भएकाले यस्ता समस्या हटाउन गाउँपालिकाले अभियान थालेको जनाइएको छ ।

गाउँपालिकाका फूलबारी, बिलन्दु, पलापु र कालीकामा प्रसूति गृह बनाएर सञ्चालनमा ल्याइएको छ । अन्य ठाउँमा छैनन् । रानीवनमा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा छ ।

दश वडा मध्ये चार वडामा स्वास्थ्य संस्था नै छैनन् । ती वडामा पनि स्वास्थ्य केन्द्र स्थापनाको काम भइरहेको अध्यक्ष केसीले बताए । आगामी असोज सम्ममा सबै वडामा प्रसूति गृह स्थापना गरिसक्ने योजना रहेको बताइएको छ । यसका लागि गाउँपालिकाले सबै वडालाई पाँच÷पाँच लाख बजेट दिने निर्णय गरिसकेको छ । रासस



प्रतिक्रिया दिनुहोस्