Logo

मुलुकभर अझै केही दिन वर्षा



काठमाडौं २९ साउन । हिले मुलुकभर सरदर मनसुनी वर्षा भएको छ। मनसुन चार महिनाको अवधिमा देशभर सरदर करिब १५ सय मिलिमिटर वर्षा हुने गर्दछ। मौसम पूर्वानुमान महाशाखाको आँकडाअनुसार यो वर्ष अहिलेसम्म सबैभन्दा बढी (हालै भक्तपुरमा) १२५ मिलिमिटर वर्षा भएको छ। यो वर्ष मनसुन सक्रीय भएको लामो अवधिसम्म पनि प्रभावकारी वर्षा नभए पनि साउन १५ देखि वर्षा राम्ररी भइरहेको छ।

मनसुन अवधिमा असार १५ देखि साउन १५ सम्म सबैभन्दा बढी वर्षा हुने गर्दछ । सामान्यतः नेपालमा जेठको अन्तिम सातादेखि मनसुन शुरु भई असोजको पहिलो सातासम्मको अवधि हुन्छ । अहिलेसम्म मध्य र पश्चिममा वर्षा राम्रै भइरहे पनि पूर्वी भेगमा तुलनात्मक रुपमा वर्षा हुन सकेको छैन । दुई दिनदेखि ती क्षेत्रमा पनि वर्षा राम्रो भइरहेकोले यो वर्ष पनि सरदर वर्षाको अनुमान गरिएको मौसमविद् वरुण पौडेलले बताए।

“मनसुन चार महिना अवधिको विवरण भदौमा मात्रै आउँछ, अहिलेसम्मको वर्षाको अवस्थालाई हेर्दा सरदर वर्षा हो। धेरै स्थानमा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षा भएको छ, दुई दिनदेखि पूर्वमा पनि मनसुन पूर्ण सक्रिय भएकाले यो वर्ष पनि सरदर वर्षा हुने देखिन्छ,”–उनले भने।

मौसमविद् पौडेलका अनुसार अघिल्लो वर्ष करिव १५० मिलिमिटर वर्षा भएको थियो। विगतको आँकडा हेर्दा सन् १९९३ जुलाई महिनामा मकवानपुरको टिस्टुङ पालुङमा २४ घण्टा अवधिमा ५४० मिलिमिटर वर्षा भएको थियो। जुन अहिलेसम्मकै अतिभारी वर्षा हो।

जेठ १५ देखि असोज १५ गतेसम्म बङ्गालको खाडी हुँदै नेपाल प्रवेश गर्ने जलवाष्पयुक्त हावा नै मनसुन हो। नेपालको पूर्वी भेग हुँदै प्रवेश गर्ने चार महिना (१०५) दिन अवधिमा चल्ने उक्त हावाले अधिक वर्षा गराउँछ। जलवाष्पयुक्त हावाले नै मनसुन अवधिभर वर्षात् गराउने मौसमविद्को भनाइ छ । नेपालमा वर्षभरि मनसुनका कारण ८० प्रतिशत र पूर्वमनसुन र पश्चिमी वायुको प्रभावले २० प्रतिशत वर्षा हुने गरेको छ।

जल तथा मौसम विज्ञान विभागले जनाएअनुसार साधारणतया जेठ १५ देखि असोज १५ गतेको चार महिनासम्मको समयलाई दक्षिण एशियाली मनसुनको अवधि भनिन्छ। उक्त समयमा नेपालमा वार्षिक वर्षाको करिब ८० प्रतिशत वर्षा हुन्छ। गत वर्षको मनसुनी वर्षा करीब ७६ प्रतिशत रहेको थियो, जुन सरदरभन्दा कम हो।



प्रतिक्रिया दिनुहोस्

Screenshot