Logo

बीचमा रुख, वरिपरि कालोपत्रे



काठमाडौं २९ साउन ।  कालोपत्रे सडक भन्नेबित्तिकै जो कोहीलाई पनि सफा, सीधा र अवरोधबिनाको सडक भन्ने लाग्छ। तर धनगढीको देवहरियादेखि बेहडाबाबा जोड्ने कालोपत्रे सडकमा भने बीचबीचमा रुखैरुख छन्। जंगल क्षेत्रमा हतारोमा कालोपत्रे गरिँदा देवहरिया–बेहडाबाबा सडक खण्डमा ३१ वटा रुख धराप बन्न पुगेका छन्।

तत्कालीन संविधानसभाका सदस्य पुष्करनाथ ओझाको निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत २०७१/७२ मा धनगढीको देवहरियाबाट धार्मिक पर्यटकीय स्थल बेहडाबाबा जोड्ने सडकको ठेक्का सम्झौता भएको थियो। साढे तीन किलोमिटर सडक कालोपत्रे गर्न तीन करोड ५० लाख रुपैयाँमा राजेन्द्र रुद्रावती जेभीले ठेक्का लिएको थियो। सडक ठेक्का प्रक्रियामा गइसकेपछि साइड हेरेर रुख हटाउन भनिए पनि वन कार्यालयले वन ऐनअनुसार रुख हटाउन नदिएको सडक डिभिजन कार्यालय धनगढीका साइड इन्जिनियर महेन्द्र पन्तले बताए। ‘सांसदले नै सडक बनाउनुस्, बिस्तारै रुख हटाउन प्रक्रिया थाल्छु भन्नुभयो,’ उनले भने, ‘सांसदले रुख हटाउने आश्वासन दिएपछि हामीले पनि सडक कालोपत्रे गर्न प्रक्रिया थालेका हौं।’ सडक कालोपत्रे भइसक्दा पनि रुख हटाउन कतैबाट अनुमति नपाएको उनले बताए। कालोपत्रे सडकका बीचमा रहेका ३१ वटा रुख यात्रुका लागि धराप बनेको उनले स्विकारे।

जंगल क्षेत्रमा हतारोमा कालोपत्रे गरिँदा देवहरिया–बेहडाबाबा सडक खण्डमा ३१ वटा रुख धराप बन्न पुगेका छन् ।
स्थानीय बासिन्दा कालोपत्रे सडकमा रहेका रुखले ज्यानै लिएको घटना सुनाउँछन्। ‘सडकमै रहेको रुखले मेरो भाइको ज्यान लियो,’ धनगढी–१७ पथरीका भिखराम चौधरी भन्छन्, ‘अहिलेसम्म तीनजनाको ज्यान गइसक्यो, कयौं अंगभंग भएका छन्।’ कालोपत्रे सडकभरि रुखैरुख हुँदा मोटरसाइकलको गति थोरैमात्र बढाउँदा पनि ठोक्किने समस्या भएको उनी बताउँछन्। ‘मोटरसाइकलको गति थोरैमात्र बढाउँदा पनि आँखैअगाडि रुख आइहाल्छ,’ उनले भने, ‘यो सडकमा यात्रा गर्दा कतिखेर रुखमा ठोक्किन्छु भन्ने लागिरहन्छ ।’ गाउँबाट धनगढी बजार आउन अर्को सडक नरहेको बताउँदै उनले भने,‘यो सडक हाम्रा लागि धराप बनेको छ तर के गर्नु, विकल्प छैन।’

स्थानीय बासिन्दा बीचमा रहेका रुख नहटाई जोखिम हुनेगरी सडक कालोपत्रे गर्नु गलत भएको बताउँछन्। ‘रुख हटाएर मात्र कालोपत्रे भएको भए विकास हुन्थ्यो, यो विकासले विनाश गरिरहेको छ,’ सवारीसाधन ठोक्किएर दाग लागेका रुख देखाउँदै चौधरीले भने, ‘दाग नलागेको कुनै रुख नै छैन । यहाँ कति दुर्घटनाको जोखिम रहेछ, आफैं बुझ्नुहोस्।’

सडकमा रहेका रुखले गर्दा दिनहुँ दुर्घटना हुने गरेको धनगढी–७ देवहरियाका रामदिन चौधरीले बताए। उनले भने, ‘कालोपत्रे गरिएको सडकमा रहेका रुखमा ठूला मालवाहक सवारीसाधन ठोक्किने गर्छन्।’ साइड इन्जिनियर पन्तले सो सडक खण्डमा दुर्घटना नहोस् भनेर रुखमा पेन्टिङ गर्ने योजना रहेको बताए।

वन कार्यालय तगारो
वन कार्यालयले समयमा रुख काट्ने अनुमति दिन आनाकानी गर्नाले विकासमा अवरोध पुग्ने गरेको छ। वन कार्यालयले अनुमति नदिएकै कारण धेरै योजना निर्माणमा ढिलाइ हुने गरेको स्थानीय बताउँछन्। यो सडक खण्डमा पनि वन कार्यालयले अनुमति नदिएको निर्माण व्यवसायीको गुनासो छ।

निर्माण कम्पनीका ठेकेदार किशोर ठकुराठीले सडक क्षेत्रमा परेका रुख हटाइदिन पटकपटक सडक डिभिजन कार्यालयलाई गुहारेको बताए। उनले भने, ‘डिभिजन कार्यालयले वनलाई पत्र पठायो तर वनले रुख कटानी गर्न आदेश दिएन।’ रुख काट्ने अनुमति कुर्दा ठेक्का सम्झौताको अवधि सकिने मिति नजिकिँदै गएको र यसले आफूहरुलाई समस्या पारेको उनले स्मरण गरे। उनले भने, ‘रुख नहटाउन्जेल सडक बनाउन नसक्ने भन्दै पटकपटक सडक डिभिजन कार्यालयलाई पत्राचार गर्दा तत्कालीन डिभिजन प्रमुख विनोद मौवारले जस्तो अवस्थामा छ, त्यस्तै अवस्थामा काम गर्नू भनी आदेश दिए।’ सांसद ओझा र तत्कालीन डिभिजन प्रमुखको आदेशमा आफूले सकारेको सडक निर्माणको ठेक्काअनुसार काम गरेको उनले बताए।
नागरिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot