Logo

ठेकेदारलाई दिएको पेश्की फिर्ता



म्याग्दी, २९ साउन । बेनी अस्पताल भवन निर्माणको ठेक्का पाएको निर्माण कम्पनीको पेश्की फिर्ता गर्ने प्रक्रिया शुरु भएको छ । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले काममा ढिलासुस्ती गरेपछि महादेव–खिम्ती–ज्वाला–रफीना जेभीको बैंक जमानतबाट असुल हुने गरी पेश्की फिर्ताका लागि प्रक्रिया अघि बढाएको छ ।

कम्पनीले बेनी अस्पतालको पचास शय्या क्षमताको भवन निर्माणको जिम्मा पाएको थियो । पेश्की लगे पनि कार्ययोजना र लक्ष्यअनुसार काम गर्न नसकेपछि रु ६६ लाख असुल गराउन जमानत बसेको बैंकलाई पत्राचार गरिएको कार्यालयका लेखा अधिकृत मीनबहादुर बानियाँले बताउनुभयो ।

विसं २०७३ मंसिर २१ गते रु १८ करोड ८४ लाखमा ठेक्का सम्झौता भएको थियो । “निर्माण कम्पनीले हालसम्म पाँच प्रतिशत पनि काम गरेको छैन,” डिभिजन कार्यालयका इन्जिनियर गणेश महर्जनले भन्नुभयो ।

चार हजार ९६३ वर्गमिटर क्षेत्रफलमा २०७६ मंसिर २० गतेभित्र चारतले भवन निर्माण गर्ने सम्झौता भएको थियो । अठार महिनाको अवधिमा डिपिसी र पिल्लर ठड्याउने कामसमेत सकिएको छैन ।

गत फागुनदेखि कम्पनीका कर्मचारी सम्पर्कबिहीन छन् । “पटकपटक काम गर्न अनुरोध गरेपनि अटेर गरेकाले कारबाही प्रक्रिया अघि बढाएका हौँ,” इन्जिनियर महर्जनले भन्नुभयो ।

भवन निर्माणमा ढिलाइ हुँदा सेवाप्रवाहमा असर परेको बेनी अस्पतालका प्रमुख वरिष्ठ चिकित्सक डा रोशन न्यौपानेले बताउनुभयो । चिकित्सक आवास भवन निर्माण भने अन्तिम चरणमा पुगेको छ ।

हाललाई अस्थायी भवन निर्माण गरी बिरामीलाई सेवा दिने व्यवस्था मिलाइएको छ । पन्ध्र शय्याको उक्त अस्पताललाई विस्तार गरी २०७२ सालमा पचास शय्यामा स्तरोन्नति गरिएको हो । रासस



प्रतिक्रिया दिनुहोस्